लाइसेन्सका लागि सवारी ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी गरिएको आजको राजधानी दैनिकमा खबर छ ।

यसअघि, विभागले कोटा प्रणाली गरेकोमा अब कोटा प्रणाली तोक्ने कि नतोक्ने भन्ने विषयको टुंगो लाग्न बाँकी छ ।

यसअघि कार्यालयलाई विभागले कोटा तोकिदिने गरे पनि अब भने कोटा नतोक्ने र कार्यालयले जति सक्छन् सोहीअनुसार गराउने तयारीमा विभाग छ ।

तर, २४ गतेको छलफलपछि कार्यालयको सुझावका आधारमा यसको अन्तिम टुंगो लगाइने भएको छ ।

विभागले ट्रायल परीक्षा खुलाएसँगै नयाँ व्यवस्था लागू गर्ने तयारी समेत गरेको छ । हाल विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ ।

सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने व्यवस्था छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइनेछ । त्यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्नेछन् ।

सरकारले गत वर्ष कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा बन्द गरेर पुस २०७७ मा नौं महिनापछि खुलाएको थियो ।

कोरोना संक्रमण वृद्धि भएपछि सरकारले पुनः वैशाख दोस्रो सातादेखि लाइसेन्सका लागि लिने परीक्षा स्थगित गरेको थियो । बाग्मती प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालयले एक सूचना प्रकाशित गरेर अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖