आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । सरकार परिवर्तनका कारण तयारी अवस्थामा रहेर पनि जारी हुन नपाएको मौद्रिक नीति राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्दै छ ।

कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको कान्तिपुर दैनिकमा समाचार छ ।

‘शुक्रबार बिहान सञ्चालक समिति बैठक छ,’ स्रोतले भन्यो, ‘सोही बैठकमा मौद्रिक नीतिलाई अन्तिम रूप दिएपछि दिउँसो सार्वजनिक गर्ने कार्यक्रम छ ।’

कोभिडको महामारीले शिथिल अर्थतन्त्रलाई गत वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो । सोही कारण यो वर्ष पनि मौद्रिक नीतिमा धेरैले गत वर्षजत्तिकै सहुलियत र सुविधा अपेक्षा गरेका छन् ।

तर गत वर्ष जस्तो धेरै सुविधा दिने पक्षमा राष्ट्र बैंक छैन । ‘गत वर्षको जस्तै कर्जाको साँवा र ब्याज तिर्न म्याद थप, पुनःसंरचना र पुनर्तालिकीकरणलगायत सुविधा हटाइहाल्ने भन्ने हुँदैन । किनकि कोभिड अझै सकिएको छैन,’ स्रोतले भन्यो, ‘तर कम अवधिका मात्र आउँछन् । अबको प्राथमिकता वित्तीय स्थायित्व हो ।’

अघिल्लो पटकको निषेधाज्ञाको तुलनामा दोस्रो चरणको निषेधाज्ञामा अर्थतन्त्र केही चलायमान रहेको राष्ट्र बैंकको निष्कर्ष छ । यसकारण पनि उद्योगी व्यापारीलाई गत वर्षजत्तिकै सुविधा नदिइने स्रोतले बताएको छ ।

‘यस वर्ष अग्रपंक्तिमा रहेका धेरै नेपालीले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । आउँदो ३÷४ महिनामा कम्तीमा पनि नेपालको आधा जनसंख्याले खोप लगाइसक्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘यसकारण पनि यो वर्ष राष्ट्र बैंकले सकेजति सुविधा दिँदैन ।’

महामारीका कारण गर्त वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंक निकै उदार देखिएको थियो । ‘यो वर्षको मौद्रिक नीतिको प्राथमिकता भनेको वित्तीय स्थायित्व, मूल्य वृद्धिमा स्थिरता र बाह्य क्षेत्रमा सन्तुलन हुनेछ,’ स्रोतले भन्यो, ‘यसपालि बैंक तथा वित्तीय संस्थालाई जोगाउने खालका नीति परेका छन् ।’

अनिवार्य नगद मौज्दात (सीआरआर), बैंक दर, कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) लगायत प्रमुख दर यथावत् राखिएको बताइएको छ ।

पछिल्ला केही महिनायता सेयर बजार लगातार उकालो लागिरहेको छ । बजार बढिरहेकाले बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा कर्जा मात्र होइन, लगानी पनि बढाएका छन् ।

यसकारण ‘बुलिस ट्रेन्ड’ मा रहेको बजार प्रभावित हुने खालका नीति मौद्रिक नीतिमा आउने धेरैको अनुमान छ । यसको तयारी राष्ट्र बैंकले पनि गरेको छ ।

तर अर्थ मन्त्रालय, संसद्को अर्थ समितिलगायत विभिन्न संघसंस्थाले सेयर बजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन सुझाइरहेका छन् ।

‘सेयर बजारमा कडाइ नगर्न ठूलो दबाब आइरहेको छ,’ स्रोतले भन्यो, ‘यसकारण मौद्रिक नीतिमा सिधै सेयर बजारमा कडाइ गरिँदैन । तर पुँजी बजारले मुद्रा बजारलाई असर नपर्ने गरी नीतिगत व्यवस्था गरिने सम्भावना छ ।’

बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी र लाभांश वितरणमा कडाइ जस्ता नीतिगत व्यवस्था भइसकेकाले पुँजी बजार सम्बन्धमा नीतिमा धेरै विषय नआउने स्रोतले बताएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाको पुँजी वृद्धिको तयारी भएको स्रोतको दाबी छ । ‘वाणिज्य बैंकको तुलनामा ख, ग र घ वर्गका वित्तीय संस्थाको पुँजी कम भएकाले तिनको पुँजी बढाउने तयारी हो,’ स्रोतले भन्यो, ‘मौद्रिक नीतिको मस्यौदामा ती संस्थाको पुँजी क्रमिक रूपमा बढाउने भनिएको छ । हेरौं, अन्तिमसम्म के हुन्छ ?’

राष्ट्र बैंकका पदाधिकारीहरूले सार्वजनिक रूपमै विकास बैंक र फाइनान्स कम्पनीलाई संरक्षण आवश्यक रहेको बताउने गरेका छन् । यसकारण पनि पुँजी बढाएर ती संस्थाको पुँजीगत आधार बलियो बनाउने चाहना राष्ट्र बैंकको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।