गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

विमलबहादुर विष्ट र विनोदसिंह विष्ट डोटी, ११ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज यहाँको प्रसिद्ध पर्व गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ । गौरा पर्वको पहिलो दिन आज यहाँका विवाहित महिलाले नजिकैको धारा तथा पँधेरामा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् । गौरापर्व मनाउने समुदायका महिलाले निरहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले बताउनुभयो ।

गौरा पर्व अर्थात् भाद्र महिनालाई हरियाली अनि पानीका थोपाहरुसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाले सौभाग्यका रूपमा मनाउने चलन रहेको जोरायल गाउँपालिका–४ गड्सेराका स्थानीयवासी तथा पण्डितडिल्लीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ महिना हरियालीसहित शुभ महिना मानिन्छ, यो महिना विवाहित महिलाको सौभाग्य महिनाका रूपमा हेरिन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा गौरा पर्व मनाउने चलन रहे पनि सबैभन्दा बढी जोरायल, गड्सेरा, दिपायल राजपुर, फलेडीलगायतका ठाउँमा मनाउने गरिन्छ । भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिककार्य आयोजना गरेर मनाइने चलन रहेको सायल गाउँपालिकाका ज्योतिष (पण्डित) चेतराज उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार गौरा पर्व विशेषगरी छिमेकी मुलुक भारत कुमाउँ तथा यहाँ परापूर्वकालदेखि नै मनाइँदै आएको छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निरहार रही गरेका उपासनाको फलस्वरुप तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी त्यही सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती रहेको यहाँका बूढापाका बताउँछन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याइन्छ । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने परम्परा रहेको दिपायल सिलगढी–२ का स्थानीयवासी तथा पण्डित मेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

ठाउँअनुसार गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने चलन छ । मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट कुलदेवता प्रशन्न हुने र परिवारमा सुख, शान्ति हुने जनविश्वास रहेको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्वकालदेखि नै मनाइँदै आएको पर्व हो । यस वर्ष भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।