कोरोनाले गौरा खेलको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल तात्न सकेन

सिद्धराज भट्ट सुदूरपश्चिम, १४ भदौ । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ ।

योसँगै समूहमा गोलबन्द भएर खेलिने डेउडा, धमारी जस्ता खेलमा रमाउन नपाउँदा सोखिन व्यक्तिहरु निराश छन् । वर्षमा एकपटक मनाइने गौरा पर्वमा आ–आफ्नो घरायसी काम छाडेर भए पनि खेल खेल्ने हौसिने गर्दछन् । डेउडाको दोहरीका गीतमार्फत आपसमा गरिने घोचपेच र तिखो ब्यङ्गका खेलको प्रत्यक्ष अवलोकन गरेर रमाउन पाउने दर्शकलाई पनि खल्लोे महसुस भएको छ ।

यद्यपी कतिपय गाउँबस्तीमा कोरोना जोखिमका बीच मास्क लगाएर डेउडा, धमारी जस्ता खेल खेल्ने गरिएको छ । धनगढीको वनदेवि मन्दिरमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गौरा खेल खेल्ने तयारी गरिएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि प्रदेशका कैलालीसहितका जिल्लामा जारी निषेधाज्ञाका कारण यस पर्वको माहोल विगतका वर्षमा जस्तो छैन । स्थानीय प्रशासनले भीडभाड नगरी साङ्केतिकरुपमा मात्र चाडपर्व मनाउन पाउने सूचना सार्वजनिक गरेपछि अधिकांश गौरा घर र मन्दिरमा माहोल तात्न नसकेको हो ।

“कोरोनाले सांस्कृतिक पर्वलाई समेत प्रभाव पा¥र्यो”, डेउडा खेलका सोखिन सन्तोष भट्टले भन्नुभयो, “गौरा पर्व मनाउँदा खेलिने गीतको रौनकले छपक्क छोपिने गाउँबस्तीमा यतिबेला रौनक हराउँदा खल्लो महसुस भएको छ ।” कोरोनाको जोखिमसँगै रोकिएको रौनकले यस पर्वको विकास र विस्तारमा समेत प्रतिकूल असर पु¥याएको देखिएको छ । जानकार एवं शिक्षक लेखराज ओझाले भन्नुभयो, “पहिलेको जसरी पर्व मनाउन पाउने अवस्था नहुँदा समाजमा सामाजिक सम्बन्ध र विस्तारमा प्रतिकूल असर पुगेको छ ।”

गौरा भित्र्याइएको भए पनि पूजाआजाको कामबाहेक अधिकांश ठाउँमा गौरा खेलको रौनक बढ्न सकेको छैन । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ । सप्तमीका दिन ब्रतालु हिन्दू महिलाले सामूहिकरुपमा नजिकैको खेतमा गएर तयार पार्ने गौराको प्रतिमालाई धार्मिक अनुष्ठान, माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन् ।

गौराको प्रतिमा तयार पर्दा धान, साउँ, तील लगाएको बोट, बिरुवा प्रयोग गरिन्छ । गौरा भगवान शिवकी पत्नी, हिमालयकी छोरी हुन् । कोरोनाको जोखिमका बीच यतिबेला तराई क्षेत्रका गौरा घर र मन्दिरमा गौरा तथा महेश्वर (शिव)को पूजाआजा गर्ने महिलाको भीड लागेको छ ।

भाद्र पञ्चमी तिथिका दिन हिन्दू धर्मावलम्बीका घरघरमा तामा वा पित्तलका भाँडामा पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यस पर्वको औपचारिकरुपमा शुरु भएको मानिन्छ । ‘बिरुडा’ भिजाएर राखिने दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । सप्तमी र अष्ठमीका दिन गौरी र महेश्वरका ब्रतालु महिलाद्वारा सामूहिकरुपमा पूजा गरिन्छ ।

यसअघि घरमा भिजाएर राखिएका बिरुडालाई सामूहिकरुपमा पँधेरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ । यसलाई ‘नोलाई’ गौरा भनिन्छ । पूजाको कार्यक्रमसँगै गौरा घर मन्दिर परिसरमा महिला तथा पुरुष छुट्टाछुट्टैरुपमा गोलबन्द भई डेउडा खेलेर रमाउने गर्दछन् ।

डेउडा गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक क्षेत्र र हिन्दू सभ्यता तथा संस्कृतिको महत्व दर्शाउने गरेको बताइन्छ । गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आफ्नो घाँटीमा लगाउने प्रचलन पनि छ । समूहले गर्ने निर्णयका आधारमा अनुकूल तिथिमा यस पर्वको विसर्जन गरिन्छ ।

यो पर्व मनाउँन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने मात्र नभई सामाजिक विकृति विसङ्गति, कुशासनविरुद्ध डेउडा खेलका मध्यमबाट तिखो व्यङ्ग गरिने हुँदा यसले समाजलाई सही बाटोमा डो¥याउन मद्दत पु¥याउने विश्वास गरिन्छ । गौराको ऐतिहासिक तथ्यः पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउन गरिएको कठोर ब्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरा पर्व मनाउने गरिएको भनाइ छ ।

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती(गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकाले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशी बताउनुहुन्छ । पछिल्ला दशकमा राजधानी काठमाडौँसम्म यो पर्व विस्तार हुन सक्नुलाई उपलब्धि मानिएको भए पनि पर्वका बेला खेलिने विशेष महत्वका मौलिक खेल भने विस्तारै हराउँदै गएको जानकार बताउँछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।