आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड

– पूर्णप्रसाद मिश्र काठमाडौँ, २४ भदौ । हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

मन्दिर खुलेका बेलामा जति वर्तालु पशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।

गोठाटारबाट बिहानै पशुपति क्षेत्र आउनुभएकी शर्मिला चालिसे पशुपतिनाथको मूल मन्दिर रहेपनि अन्य शिवालयमा पूजा आराधनाका लागि आएको बताउनुहुन्छ । मन्दिर नखुले पनि पशुपति क्षेत्रमा नआए तीजजस्तो नलाग्ने भएकाले आफू आएको उहाँको भनाइ छ । अन्य मन्दिर जाँदा पशुपति क्षेत्रको जस्तो खुलापनको अनुभव नहुने भक्तजनले बताएका छन्।

मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन् । यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन ।

गोकर्णेश्वरमा वर्तालुको भीड

गत वैशाख १० गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबार बिहानदेखि खोल्ने निर्णय गरिएको छ । पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएपछि धेरै भक्तजनको गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भीड लागको छ । कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेला स्थगित गर्ने भनिए पनि टाढा–टाढाबाट धेरै भक्तजन आएपछि खुला गरिएको थियो ।

औँसीमा खोलिएकाले तीजका अवसरमा आज पनि मन्दिर खुला गरेर मास्क, स्यानिटाइजर, भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वर्तालुुलाई पूजा आराधना एवं दर्शन गर्न दिइने मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

गोकर्णेश्वर मन्दिर परिसरमा विभिन्न संस्थाको सहयोगमा स्वयंसेवक परिचालन र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । स्वयंसेवकले वर्तालुलाई दूरी कायम गरी लाममा बसेर दर्शनका लागि सहयोग गरेका छन् ।

नागेश्वर मन्दिरका ढोका बिहानैदेखि खुला

काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बिहान पौने चार बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । भदौरे झरीका बीच भक्तजन छाता ओढेर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् ।

यसैगरी काठमाडौँ उपत्काका टोल–टोलमा रहेका शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

तीजको पौराणिकता

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताउनुभयो ।

“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उहाँले भन्नुभयो।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ । तीज व्रत गरेका वर्तालुले भाद्र शुक्ल चतुर्थीका अवसरमा शुक्रबार व्रत उद्यापन गरेरमात्र भोजन गर्ने परम्परा छ । स्वास्थ्य समस्या हुनेले भने आजै फलाहार गर्छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।