थारू समुदायमा पुरूष व्रत बस्ने ‘अटवारी’ को रौनक

काठमाडौं, २७ भदौ । पश्चिम तराईका थारू समुदायले प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको ‘अटवारी’ पर्व आज मनाउँदै छन् । पश्चिम तराईका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायमा अटवारीको रौनकता छाएको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अटवारी पर्व मनाउने गरिन्छ। अटवारी मुलतः थारू समुदायका पुरूषले मनाउने पर्व हो ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ दिनभर व्रत बस्ने प्रचलन छ । व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा मीठो परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् ।

पूजाको कामपछि पकाइएका खानाका परिकार व्रतालुले प्रसादको रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी, दिदीबहिनीको घरसम्म पुर्याउिने प्रचालन रहेको धनगीका वीदेश चौधरीले बताए । पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ ।

ऐतिहासिक महत्व

थारू अगुवाका अनुसार अटवारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ । महाभारतका पाँच पाण्डवहरु र दाङका थारूराजा दंगिशरणबीच लामो समयदेखि राम्रो सम्वन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दंगिशरणको राज्यमा सत्रुहरुलाई आक्रमण गर्न लागेको खवर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकै पेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए । भीमले राजा दंगिशरणको पक्षमा लडेर सत्रुलाई हराउन सफल भएका थिए । सोही विजयी उत्सवको अवसरमा थारु समुदायले अटवारी मनाउदै आएका छन् ।

थारू समुदायले माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वको रुपमा अटवारीलाई लिने गर्दछन् । अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार व्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, सेल रोटी पकाएर अटवारी पूजा गर्ने गर्दछन् ।

अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । यो वर्ष चौधरी–डगौरा समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिने गरेको धनगढीकै भीम चौधरीले बताए ।

उक्त समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा संस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गरेको भीमले सुनाए ।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ । अटवारी पर्वको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई र सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।