रेल आयो ,रेल चलाउने साहित आएन

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ २ वटा रेल नेपाल भित्र्यायो । नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुशी छायो तर किनेको नयाँ रेल पनि थन्किएको १ वर्ष भएको छ ।

रेल छोपेको पाल समेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन।

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो ।

लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो । पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन । रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे तर रेल आएको वर्षदिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन ।

रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानूनको अभावमा १ वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ ।

निकै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन् । रेल भित्र्याउने समयमा १ महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको छ ।

‘४–५ वर्षदेखि रेल चल्ने कुरा हुँदैछ तर कहिले चल्छ अत्तोपत्तो छैन,’ जनक नन्दनी गाउँपालिका–४ खजुरीकी सूर्यकला देवी कामतीले भनिन्, ‘रेल नचल्दा छौं ।’ उनी भन्छिन्, ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन । रेल त आयो तर १ दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगाानै छैन ।’

विगत ३ वर्षदेखि विवाह पञ्चमीमा भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने हल्ला भए पनि अहिलेसम्म नचल्दा सीमावर्ती क्षेत्रका स्थानीयहरूको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदा जाँदा समस्या हुन्छ, रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा थियो तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकै उमेरले ८० कटेकी जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष हुन लाग्यो । जनक नन्दनी गाउँपालिकाका ८० वर्षीय मो. हामिद साफी बुढ्यौली कम्मर समाउँदै अरू जस्तै गुनासो पोखे ‘रेल चल्ने कुरा त बच्चाबच्चीको खेल जस्तै भयो । रेल चल्दा आउन जान सजिलो हुन्थ्यो, रेल बन्द भएपछि जनकपुर अहिलेसम्म एकपटक पनि जान सकेको छैन ।’

उनी थप्छन्, ‘रेल अब चल्छ, अब चल्छ, भनेर सधैं सुन्छु तर अहिलेसम्म कहिले चल्ने टुंगो छैन ।’ रेल्वेका महाप्रबन्धक निरञ्जन झाले भारत सरकारले हालसम्म हस्तान्तरण पूर्ण रूपमा समेत चलाउन ढिलाइ भएको बताए ।

सञ्चालनको तयारी हुँदा कर्मचारी अभाव, संरचना हस्तान्तरण, कानून अभाव, झ्यालढोका तथा अन्य संरचनामा निर्माण ढिलाइ हुँदा रेल सञ्चालन रोकिएको झा बताउँछन् । ‘अब धेरै समय नलाग्नुपर्ने हो, सक्दो चाँडो सञ्चालनको तयारी छ, आवश्यक सबै प्रक्रियापश्चात् केही दिनमै चलाउँछौं,’ झाले भने ।

नेपाल–भारत सरकारको संयुक्त लगानीमा जयनगर–जनकपुरदेखि कुर्थासम्म रेल्वेको ब्रोडगेज लिंक, स्टेसन निर्माण, सकेको २ वर्षभन्दा बढी भयो । नेपाल सरकारले आफ्नै लगानीको ८५ करोडमा रेलसेट पनि खरिद गर्‍यो तर व्यवस्थापकीय कमजोरीका कारण रेल सञ्चालन हुन नसकेको रेल्वेका इन्जिनीयर विनोद ओझा बताउँछन् ।

‘रेल चलाउने भनेको हो तर सबै कुरा हाम्रो हातमा छैन, अनि कसरी रेल चल्छ ? अहिलेलाई रेल चलाउने कुरा रेल्वे कम्पनीसँग सोध्नुस्,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।