महाधिवेशनबाट पुनःदेउवालाई फेरि नेतृत्वमा दोहोरिन सहज होला ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ । संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा) ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ ।’
नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन (मत) चाहिन्छ। निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पु¥याउन रोक्न सक्छ।’१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री सिटौलाले ३२१ मत पाएका थिए। तर त्योभन्दा धेरै तत्कालीन संस्थापन पक्षमा विद्रोह भएको भन्दै पौडेलको पक्षमा वातावरण बन्न नसकेको देउवा निकट ती नेताको बुझाइ छ। अहिले पनि संस्थापन इतरबाट धेरै आकांक्षी देखिएका कारण देउवा नै सबैभन्दा शक्तिशाली देखिएको विश्लेषण गर्दैै ती नेताले भने, ‘संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार हुँदा देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।’समाचार आजको नागरिक दैनिकमा
गुरु नानक जयन्ती मनाइँदै
काठमाडौँ, ३ मङ्सिर ।प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।
यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो ।


