काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा ः बौद्ध धर्मावलम्बीको घुइँचोे

राजकुमार पराजुली,काभ्रेपलाञ्चोक, ४ मङ्सिर । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । बिहीबारदेखि लागेको मेलामा शनिबार बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन–पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएरातभरि नमोबुद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गर्नेको उत्तिकै भीड थियो ।

कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबुद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्ष औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताउनुभयो । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बाल्ने गरिन्छ । “बर्सेनि पितृलाई बत्ती बाल्ने गर्थे दुई वर्ष पाइन, यो वर्ष फेरि आएँ”, च्याम्राङ्बेँसीका कुलमान स्याङ्तानले भन्नुभयो । उहाँको परिवारका सबैजना मेला भर्न बिहीबारदेखिनै नमोबुद्ध आउनुभएको छ । विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरुले मेला भर्ने नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो । लामागुरुले भन्नुभयो, “तत्पश्चात राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिनुहुन्छ ।”
संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तूपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधँैजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामाले बताउनुभयो । उहाँका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाँै, धादिङ, नुवाकोटलगायतबाट सहभागिता भएको छ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमोबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ।

उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता वन्यजन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पन्छी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ । काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।