एकमहिने कात्तिक भजन सम्पन्न

रमेश गिरी,भक्तपुर, ४ मङ्सिर। साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका विभिन्न मठमन्दिर र पाटी तथा सत्तलमा महिला पुरुषको सहभागिता पनि बढ्दै गयो । हार्मोनियम, तबला र विभिन्न परम्परागत बाजा बज्न थाले अनि गाइन थाले दाफा भजन । प्रत्येक मन्दिर र पाटीमा घन्किएका दाफा भजनले मध्यपुरथिमि राति १० बजेसम्म गुञ्जयमान बन्यो । मन्दिर अगाडि मकै, भटमास, पिँडालु, सख्खरखण्डलगायतका विभिन्न अन्न र त्यसका परिकारको थुप्रो लागेको थियो । बोडे, नगदेश, चपाचोमा मन्दिर अगाडि गहँुको पिठोबाट पकाइएको परिकार र विभिन्न देवीदेता तथा मन्दिर बनाइएको थियो भने चपाचोको प्रचण्ड भैरव अगाडि पिठोबाट नै भैरवको मूर्ति बनाएर दियो बाली सजाएर राखिएको थियो ।

स्थानीय बासिन्दाले आफ्नो टोलको दाफा भजन भएको ठाउँमा सहभागिता मात्रै जनाएका थिएनन्, प्रत्येक घरबाट उसिनेको सख्खरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेडागुडीले मूला लगायतको थुप्रो देखिन्थ्यो । दाफा भजन सकिएपछि भने सबैले त्यसलाई प्रसादका रुपमा ग्रहण गर्दै एक महिने दाफा भजन सम्पन्न गरिएको थियो ।
यो मनमोहक दृश्य देखिएको थियो शुक्रबार साँझ ६ देखि राति १० बजेसम्म मध्यपुरथिमि नगरपालिकाभित्र । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सकिनमना पूर्णिमामा यहाँका सांस्कृतिक एवं दाफा भजनबारे जानकारी गराउनुभयो । दसैँको कोजाग्रत पूर्णिमादेखि नेवार समुदायले आआफ्नो टोलमा रहेको गणेश, महादेवलगायत देवीदेवताका मन्दिरमा प्रत्येक साँझ दाफा भजनकीर्तन गाउन सुरु गरेका थिए । सोही एकमहिने भजनकीर्तन भव्यरुपमा अन्नको देवत्व ग्रहण गर्ने पर्वका रुपमा समापन गरिएको थियो ।

यो एकमहिने अभियानले यहाँका दाफा भजनलाई संरक्षण गर्न ठूलो मद्दत पुगेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । नगरपालिकाले यहाँका मूर्तअमूर्त कला, संस्कृतिको जेगर्ना गर्न आवश्यक पहल र सहयोग गर्दै आएको बताउदै उहाँले नगरपालिकाले यहाँका सम्पदा मात्रै नभई यहाँका सांस्कृति नाचदेखि भजनसम्मको संरक्षण गर्न बजेट नै छट्याएको जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले दिवा र रात्रिकालीन पर्यटनको विकास गर्ने योजना बनाएको छ, त्यसका लागि मूर्त कला मात्रै भएर पुग्दैन, अमूर्तरुपमा रहेका यहाँका सांस्कृतिक एवं ऐतिहासिक र धार्मिक नाचलाई पुनर्जीवन दिएर नगरपालिकाले नियमित चलाउन बिजेट विनियोजन गरेको छ, यस्ता दाफा भजनदेखि नाच, जात्रा पर्वलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लागिरहने छौँ ।”

मध्यपुरथिमि नगरपालिका–७ नगदेशका वडाध्यक्ष कृष्णकुमार प्रजापतिले एकमहिने कात्तिक भजनको समापन गरिएको बताउँदै यो पर्वलाई हिन्दू र बौध धर्मावलम्बीले मान्दै आएको बताउनुभयो । यसले धार्मिक सहिष्णुतालाई पनि प्रष्ट पारेको बताउँदै उहाँले यो परम्पराले परम्परागतरुपमा चल्दै आएको ऐतिहासिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जोगाउँदै आएको बताउनुभयो । नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार यसदिन पिँडालु, सख्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहँदै आएको उहाँले बताउनुभयो । सकिमाना पुन्हीमा महादेवको पूजाआराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै अविवाहितले राम्रो वर पाउने धार्मिक विश्वास रहँदै आएको स्थानीयवाी बताउँछन् । यसका साथै घर परिवारमा सुख, शान्ति हुने जनविश्वास पनि रहँदै आएको छ । शुक्रबार साँझदेखि रातिसम्म भक्तपुर नगरपालिकाभित्रका प्रत्येक मन्दिर अगाडि विभिन्न अन्न तथा गेडागुडीबाट मन्दिर तथा देवीदेवताका आकृति बनाएर दाफा भजन गाइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।