प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै
मुुग्लिन, ५ मङ्सिर । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।
यो पनि पढ्नुहोस..कांग्रेस निर्वाचन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन
काभ्रेपलाञ्चोक, नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ हुनुहुन्छ । सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित हुनुभएको हो । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी हुनुभएको छ ।यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित हुनुभएको छ । उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी हुनुभयो । यस्तै सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित हुनुभएको हो ।
यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार सोमबार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ । नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।यही मङ्सिर १० गते हुने जिल्ला अधिवशेनमा भने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको समूहबाट पूर्वसांसद तीर्थ लामाले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा छुट्टै प्यानल बनाउनुभएको सभापति मधुप्रसाद आचार्यको समूहबाट भने हालसम्म जिल्ला नेतृत्वको उम्मेदवारी टुङ्गो लागेको छैन । उक्त समूहबाट पूर्वसांसद कञ्चनचन्द्र वादे र जिल्लानेता तीर्थ पसखलको सभापतिमा उम्मेदवारीको चर्चा छ ।


