अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा,थापा र लिङ्देनको टिममा को–को ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ।
महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ।
यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ। राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङ्देनलाई हुने प्रस्ट पारेका छन्। राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङ्देनलाई आग्रह गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।
आमा समूहलाई पच्चीस लाख मूल्य बराबरको जग्गा दान
तनहुँ, १६ मङ्सिर । व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आउनुभएका हरिबहादुर हडखलेले यहाँको एक आमा समूहलाई जग्गादान गर्नुभएको छ । सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उहाँले करिब रु २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित भई समूहको भवन निर्माणका लागि आफूले जग्गा उपलब्ध गराएको हडखलेले बताउनुभयो । हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आउनुभएको थियो । आमा समूहको भवन निर्माणका लागि आफूले पिता पिताम्बर हडखलेको स्मृतिमा निःशुल्करुपमा जग्गा दिन पाउँदा ज्यादै खुसी लागेको उहाँले बताउनुभयो । दुई हप्ताअघि पारिवारिक कामले नेपाल आएको अवसरमा उहाँले सो जग्गा प्रदान गर्नुभएको आमा समूहका कानूनी सल्लाहकार तथा जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिनुभयो ।
समाजसेवीको रुपमा परिचित हडखले परिवारले आमा समूहलाई तीनदेखि चार आनासम्म दिने भनी आश्वासन दिनुभएको थियो । समाजमा रहेर केही योगदान गर्नुपर्दछ भन्ने सोचका साथ हड्खलेले जग्गा उपलब्ध गराउने प्रतिबद्धताअनुरुप मालपोत कार्यालयमा गई जग्गा पास गरी दिनुभएको आमा समूहकी अध्यक्ष सावित्री हडखलेले बताउनुभयो । विगत २३ वर्ष अगाडि संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समूह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो । तिहारमा हुने देउसी भैलो, स्थानीयको घरमा हुने बिवाह व्रतबन्ध, पूजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
विविध क्रियाकलापबाट सङ्कलित रकमबाट प्रतीक्षालय निर्माण गर्नुका साथै गाउँमा रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर, महादेव मन्दिर, दुई वटा ठूला ट्रष्ट हल निर्माण गरिएको समूहकी अध्यक्ष हडखलेले बताउनुभयो । समय समयमा टोल छिमेकमा सचेतनामूलक कार्यक्रम, सरसफाइ र मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै आइरहेको उक्त समूहले जनाएको छ । जग्गा दाताकी आमा गङ्गाकुमारी उक्त आमा समूहको ज्येष्ठ सदस्यका रुपमा रहनुभएको छ भने समूहबाट हुने हरेक कार्यमा सक्रियरुपमा सहभागी हुँदै आउनुभएको छ ।


