देवघाटमा बतबीज छर्नेको भीड
चितवन, १७ मङ्सिर । बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन् । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उहाँका अनुसार तनहुँतर्फ मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ । चितवनतर्फ वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन् ।
यकिन तथ्याङ्क नहुने भए पनि ५० हजार हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको घिमिरेले जानकारी दिनुभयो । यो सङ्ख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो ।
दिवङ्गत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।
आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको उहाँले बताउनुभयो ।
दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान
दार्चुला, १७ मङ्सिर ।दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताउनुभयो ।
गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत तथा बदर एक मत खसेको सहजकर्ता धामीले बताउनुभयो ।बुधबार मात्र मालिकार्जुन गाउँपालिका–२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ ।
सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ । बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालविवाहका कारण विद्यार्थीको बीचैमा पढाइ छुट्ने गरेको छ ।


