नेपालमा रेल सन्चालन मा के कारणले रोकावट भएको हो त ?
सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसारसमेत देखिएको छैन । नेपाल रेल–वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाएर रेल सञ्चालन गरिने बताएका छन् । हतारमा बिनातयारी भारतबाट ल्याइएको रेल वर्ष दिनअघिदेखि जनकपुरमा ल्याएर पालले छोपेर राखिएको छ । लामो समयसम्म सञ्चालन हुन नसक्दा पालसमेत च्यातिएर गएको छ ।
भारतबाट गत वर्षको असोजमा जयनगर–कुर्था खण्डमा सञ्चालन गर्न भन्दै दुईवटा रेल सेट खरिद गरिएको थियो । सरकारले रेलमार्ग र ट्रेन सेट तयार भएपछि नेपाल रेलवे कम्पनी स्थापना गरेर जिम्मा दिएको छ ।
नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारकै पालामा रेल सञ्चालनको लागि पटक–पटक समय तोकिएको थियो । तयारी नगर्ने तर रेल सञ्चालनको समय मात्र तोकिँदा लामो समयदेखि रेल सञ्चालन हुन सकेको छैन ।निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले १९ जेठ २०७७ मा नै रेल सञ्चालनका लागि सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने बताएका थिए । तर, सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
डेढ अर्बको लगानीमा अस्पताल
चितवन, १८ मङ्सिर ।मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ।”
अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।


