एमसिसीले संसद् अधिवेशनमा प्रवेश …
संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै संसद् अधिवेशन बोलाएकाले यो अधिवेशनमा कानुन निर्माणको काम अघि बढ्ने अवस्था देखिँदैन। एमसिसी सम्झौतालाई संसद्मा प्रवेश गराएर पारित गर्ने वातावरण बनाउन पनि अधिवेशन बोलाइएको अनुमान गरिएको छ। त्यस्तै सत्तारुढ गठबन्धनले बिहीबार प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएको र बिदामा बस्न नमाने उनीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा ल्याउन सक्ने अनुमान पनि गरिएको छ। तत्काल महाभियोगको विषय अघि बढेन भने पनि एमसिसीको विषयले भने प्राथमिकता पाउने अवस्था देखिएको धेरैको बुझाइ छ।
संसद्लाई बिजनेस दिने विषयमा सरकारले केही जनाएको छैन। गत भदौ २३ गते बोलाइएको संसद्को नवौं अधिवेशनबाटै एमसिसी पारित गर्ने उद्देश्य सरकारले राखेको थियो। तर त्यो अधिवेशनमा एमसिसीको काम अघि बढेन।चालु आर्थिक वर्षको बजेट पारित गरेर सो अधिवेशन सकिएको थियो। भदौ २३ गतेदेखि कात्तिक ११ गतेसम्म चलेको उक्त अधिवेशन अन्त्य भएको झन्डै डेढ महिनापछि सुरु हुनेगरी हिउँदे अधिवेशन बोलाइएको हो। नवौं अधिवेशन सुरु भएको भोलिपल्टै भदौ २४ गते एमसिसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएर राजनीतिक भेटघाट गरेको थियो। संसद्को नवौं अधिवेशन सुरु हुनुभन्दा पाँच दिनअघि भदौ १८ गते अर्थ मन्त्रालयले एमसिसी मुख्यालयलाई एमसिसीबारेमा स्पष्ट पार्न भन्दै विभिन्न प्रश्नसहित पत्राचार गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।
डेढ अर्बको लगानीमा अस्पताल
चितवन, १८ मङ्सिर । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ।”
अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ । अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।


