फेरि बढ्यो अलैंची को मुल्य

गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो । तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपियाँसम्म पुगेको थियो । वि.सं. २०२० तिर प्रतिमन ८० रुपियाँमा अलैँची बिक्री गरिएको किसान अझै पनि सम्झन्छन् ।

आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका हुन् । त्यसपछि नै हो अलैँची खेती विस्तार भई उत्पादन बढेको । तर अलैँचीको मूल्य अस्थिर खालको हुन्छ । कहिले मूल्य बढेर प्रतिमन एक लाख रुपैयाँभन्दा माथि पुग्छ भने कहिले घटेर २०–२२ हजार रुपैयाँमा पनि आइपुग्छ । लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् । यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो । यसका साथै पछिल्लो समयमा राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव हुँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताए ।

अहिले ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसँगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैँ राम्रो दाम दिने व्यापारीलाई अलैँची बेच्न थालेका छन् । यो अवस्थाले अलैँची बिचौलियाको माध्यमबाट नभई सीधै ठूला व्यापारीसम्म पुग्न थालेको छ । पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सीधै बिर्तामोडसम्म पु-याउन थालेका छन् । यसरी बेच्न थालिँदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर बिक्री गर्न पाउने स्थिति सिर्जना हुन थालेको छ ।
विगतमा व्यापारीले तोकेको मूल्यमा किसानले अलैँची बेच्नुपर्ने बाध्यता नै थियो । किन्नेबाट होइन अब बेच्नेबाट मूल्य तोक्न थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मूल्य पाउन थालेको देखिन्छ । किसान सचेत हुन थाल्दा अलैँचीको मूल्यमा सुधार हुँदै आएको राष्ट्रिय कृषक समूह महासङ्घ, पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।

पाँचथर जिल्लामा झन्डै दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुनुका साथै ८०० मेट्रिक टनसम्म अलैँची फल्छ । पाँचथरमा मात्रै वार्षिक दुई अर्ब रुपियाँ अलैँचीबाट आम्दानी हुने गरेको छ । यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका १४ हजार ७०० हेक्टरमा भइरहेको छ ।खोल्सीको सुनका रूपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दै गएको छ ।पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पश्चिमको अछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको तथ्याङ्कले देखाउँछ ।
पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती महँगोमा बिक्ने लोभले अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा रोप्ने गरेका छन् । गोरखापत्र दैनिकमा नारायण तुम्बापोले खबर लेखेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।