आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै
धनुषा, १९ मङ्सिर।जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिनुभयो ।रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फी रुपमा दर्जनौं शक्तिशाली र बलबान राजा महाराजा र राजकुमार सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन् ।अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो ।
धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ मनाइएको छ । विवाहपञ्चमीको चौथो दिन भोलि सोमबार तिल्कोत्सव, मङ्गलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव रहेको छ।बिहीबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ । त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।गत दुई वर्षदेखि कोरोना महामारीले असर पारेको महोत्सवमा यसवर्ष धुमधाम साथ मनाउने तयारी रहेको मन्दिरका महन्थ बैष्णवले बताउनुभयो । अहिले विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरलाई नवबेहुली झै सजाइएको छ, भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाइ गरी मुख्य चोकमा प्रवेश द्वार निर्माण गरिएको छ ।महोत्सव हेर्न देशभित्र र भारतसहित तेस्रो मुलुकका पर्यटकको पनि उल्लेख्य सहभागिता देखिएको छ ।
राप्रपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा
काठमाडौँ, १९ मङ्सिर ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित हुनुभएको छ ।महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित हुनुभएको छ । पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताउनुभयो । उहाँले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उहाँको भनाइ छ ।


