मटिहानीमा मटकोर विधि सम्पन्न
जलेश्वर, २० मङ्सिर ।मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।
राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिनुभयो । मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान माता सीताको प्रतीक रहेको मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए ।
मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान रामचन्द्र र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । गए राति मटिहानीमा यज्ञवेदीको लागि खनिएको माटो लिएर एक विशेष रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न मटिहानीमा अवस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि सो स्थानमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ ।
काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र
काभ्रेपलाञ्चोक, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो । गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ । रोशी–६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो । स्थानीय तहमा कमिटी निर्माणपछि पार्टीको हप्ताअघि बसेको बैठकले काभ्रेमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पार्ने निर्णयअनुसार अघि बढिएको जनाइएको छ । काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दिपक गौतमले जानकारी दिनुभया । उहाँका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भैसक्ने छन् । जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् । हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिनुभयो । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररुपमा भइरहेको छ, आउँदो पुस १५ सम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, उहाँले भन्नुभयो ।
मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताउनुभयो । वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ । पार्टीले विशेष गरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ । “हामी क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै जाने योजना बनाएका छौँ”, वाइवाले भन्नुभयो । नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए । तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो ।
उक्त पार्टीमा काभ्रेपबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद पोलिटब्युरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ ।


