विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद

काठमाडौँ, २७ मङ्सिर ।विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरविना विज्ञप्ति जारी गरिएको भन्दै नयाँ विवाद सुरु भएको छ । महासङ्घ अन्तर्राष्ट्रिय समितिको महासभा बैठक मङ्सिर २४ र २५ गते आयोजना गरिएको थियो । समितिको विधानअनुसार महासभा बैठक संस्थाको सर्वोच्च निकाय हो । जसले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्छ । निश्चित सदस्यलाई मात्र खबर गरी नयाँ नेतृत्व हत्याउने उद्देश्यले गुपचुपरुपमा महासभा बैठक गरिएको भन्दै एक पक्षले विरोध गरेको छ ।
बैठकमै उपस्थित दुई पक्षबीचमा पनि महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतमपक्षबीच भावी अध्यक्षको विषयलाई लिएर विवाद भएको थियो । विवादपछि कार्यवाहक अध्यक्ष चक्रबन्धु अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै असहज परिस्थितिका कारण महासभा बैठक हाललाई स्थगित गरी उपयुक्त समयमा गर्ने उल्लेख गर्नुभएको छ ।

महासचिव पक्षले भने नयाँ नेतृत्व छनोट गरेको भन्दै लेटरप्याडको दुरुपयोग गरी हस्ताक्षरविनाको विज्ञप्ति निकालेको भनी महासङ्घका सदस्यले विरोध गर्न थालेका छन् । भण्डारी पक्षले निकालेको विज्ञप्तिमा महासङ्घ अन्तर्राष्ट्रिय समितिको भारत शाखाले समर्थन गरेको उल्लेख छ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत भण्डारीलाई नै समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासङ्घ भारतका महामण्डलेश्वर योगी अलखनाथ उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समर्थन भण्डारीलाई रहेको मन्तव्य व्यक्त गरेपछि गौतम पक्षका मानिस प्रमुख अतिथिप्रति खनिएको दाबी गर्दै हस्ताक्षरविनाको विज्ञप्ति निकालिएको छ।

म्याग्दीखोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु
– सन्तोष गौतम,म्याग्दी, २७ मङसिर । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । “नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन”, उहाँले भन्नुभयो, “दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन्, थप दुई तयारीमा छन् ।”

गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इञ्जिनीयर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिनुभयो । गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ । मालिका–७ बिम र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बिमको शिवरात्री खोलादेखि भारबाङ, कल्लेनी, छहरीहँुदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेको जानकारी दिनुभयो ।

धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माणअघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताउनुभयो ।आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेण्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिसकेको उहाँले बताउनुभयो । अप्पर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ ।

बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रशारण लाइन पुगेपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई तीव्रता दिने जनाएको छ । कल्लेनीहँुदै आयोजनाको बाँध निर्माणस्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ । धवलागिरि–४ मुदीको खाम्ला नजिकै बाँध र मालीका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसाल्ने कम्पनीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।