एकै दिन निगमका दुईवटा विमान ग्राउन्डेड, तारेहोटलमा यात्रु
काठमाडौं, पुस १५ । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउन्डेड भएको हो ।निगमको मंगलबार ९एन–एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९एन–एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो ।
यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् ।यसैगरी, उनले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतमा भने अझै केही दिन समय लाग्ने बताइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा अकस्मात बिग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १ सय ३ जना यात्रुसहितको काठमाडौं–नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए ।निगमका प्रवक्ता खड्काले वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि सो उडान स्थगित गरिएको र बुधबार साँझ अर्को विमान पठाउने व्यवस्था गरिएको जानकारी दिइन् ।
काठमाडांैबाट जापानको नारिता उड्ने तयारीमा रहेको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि मंगलबार राति १०ः५० बजेको उडान रोकिएपछि निगमले सो विमानका यात्रुलाई तारेहोटलमा लगेर राखेको थियो ।
प्रवक्ता खड्काका अनुसार सोही विमानले नारिताबाट काठमाडौं ल्याउने तयारीमा रहेका १ सय ७३ जना यात्रुलाई पनि त्यहाँको होटलमा लगेर राखिएको थियो । निगम स्रोतका अनुसार मंगलबारबाट कतारको दोहामा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतका लागि झन्डै एक साता लाग्नेछ । यसैगरी, जापानको नारिता उड्ने तयारीमा बिग्रिएको वाइडबडी विमान मर्मतका लागि पनि अझै एक÷दुईदिनको समय लाग्नेछ । राजधानी दैनिकबाट


