जेलबाटै नयाँ पार्टी खोल्दै रेशम,के राख्छन् त पार्टी को नाम?
काठमाडौं, पुस १७ । टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रबार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको उनको पत्नी रजिञ्ता श्रेष्ठले पुष्टि गरिन्। चौधरीले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने भएका छन्। यसअघि उनले पार्टीको नाम नागरिक समाजवादी पार्टी राख्ने तयारी गरेका थिए। चौधरीका कार्यकर्ताले आयोगमा गई सो नामबारेमा बुझेपछि चौधरीले नागरिक समाजवादी पार्टी नाम नराख्ने निष्कर्षमा पुगेका हुन्। नागरिक समाजवादी पार्टी आयोगमा अरू कसैले दर्ता गरेकोले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने निष्कर्षमा पुगेको चौधरीनिकट दामोदर पण्डितले बताएका छन्। पण्डित उक्त पार्टीको अध्यक्षपछिको महत्वपूर्ण पदमा रहने भएका छन्। पण्डित यसअघि नेकपा ९माओवादी०मा आवद्ध थिए।
पछि उनी बाबुराम भट्टराईसित तत्कालीन नयाँ शक्ति पार्टी दर्ता गराएका थिए। बाबुरामले नयाँ शक्तिलाई तत्कालीन उपेन्द्र यादवको पार्टीसँग एकीकरण गराएपछि पण्डित एकीकृत पार्टीमा नगई स्वतन्त्र भएका थिए।चौधरीकी पत्नी रञ्जिताका अनुसार नयाँ पार्टीको अध्यक्ष चौधरी आफै हुने भएका छन्। तर निर्वाचन आयोगले चौधरीलाई दलको अध्यक्ष बनाउन मानेन भने उनकी पत्नी रञ्जिता हुनेछन्। ‘उहाँ (चौधरी) पार्टीको अध्यक्ष हुनुहनेछ। निर्वाचन आयोगले मानेन भने म अध्यक्ष हुनेछु,’ रञ्जिताले भनिन्।
पार्टी दर्ता गराउनुअघि चौधरीका कार्यकर्ता १९ गते बिहान माइतीघर मण्डलामा जम्मा हुने भएका छन्। त्यहाँबाट झाँकीसहित आयोगमा जाने कार्यक्रम रहेको पण्डितले बताए। चौधरीले आयोगसमक्ष पार्टीको नाम ढकीया राख्न प्रस्ताव गर्ने भएका छन्। चौधरीले नयाँ पार्टी दर्ता गरेपछि जनता समाजवादी पार्टीसँगको उनको सम्बन्ध समाप्त हुनेछ। जसपा र तत्कालीन राष्ट्रिय जनता पार्टीले उनको रिहाइको मागलाई जोडतोडले उठाउँदै आएको छ। नागरिक दैनिकबाट
यो पनि पढ्नुहोस्…कतिपयलाई लाग्न सक्छ, प्रचण्ड फेरि रूपान्तरण गर्न सक्ला, फेरि झुपडीमा जान सक्ला, काठमाडौंको यो रमझम छोड्न सक्ला, चिल्लो गाडी छोड्न सक्ला, आफैँ व्यक्तिवादी भइसकेको छ, यसो गर्न सक्ला त ? जसले भन्छन् तिनीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु । जरुरी पर्दा अर्को लडाइँ लड्न पनि तयार, तर प्रतिक्रान्तिकारीलाई छोडिँदैन । जस्तोसुकै त्याग र बलिदान गर्न तयार छु, यो अन्तिम अवसर गुम्न दिनेछैन ।
माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित गरेको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको बन्दसत्रले प्रतिवेदनमाथि समूहगत छलफल सकेर निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले हलमा उठेका प्रश्नहरूको जवाफ दिएसँगै प्रतिवेदन पारित भएको हो ।
हलले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रचण्डले आउँदो आमनिर्वाचनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने र दस्ताबेजलाई थप परिष्कृत गरेर क्रान्तिकारी विचारको निर्माण गर्ने बताए । समूहगत छलफलका लागि २५ वटा समूहमा बाँडिएर भएको छलफलमा अधिकांश प्रतिनिधिले प्रतिवेदनले धेरै विषयको उठान गरे पनि ठोस निष्कर्ष नदिइएको तथा केही महत्वपूर्ण विषय छुटाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
सोही क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले पूरक प्रतिवेदन र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मतसमेत राखेका थिए । जवाफ दिने क्रममा प्रचण्डले पूरक प्रतिवेदन र फरक मत भन्दै प्रतिवेदनको मूल प्रवृत्ति सही भनेको र विचार तथा पार्टी रूपान्तरणको स्पिरिटसहितको दस्ताबेजका रूपमा हाउसले स्वीकार गरेको निष्कर्ष सुनाए । ‘तपाईंले यो कसैको करकापमा, आवेशमा वा अन्धभक्तिमा यसो स्वीकार गर्नुभएको होइन,’ उनले भने ।
चुनावपछि विशेष महाधिवेशन प्रचण्डले संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने बताएका छन् । ‘संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने भनेका छौँ । विचारको ऐतिहासिक सुरुवात भएको छ । पूर्ण भएको छैन । चुनावपछि विशेष महाधिवेशन गरेर गम्भीर बहससँगै विचारको विकास गर्छौँ,’ महाधिवेशनस्थलबाहिर सञ्चारकर्मीसँग प्रचण्डले भने ।
उनले प्रतिनिधिले उठाएका सबै सुझावलाई मिहीन ढंगले अध्ययन गरेको भन्दै चुनावपश्चात् विशेष महाधिवेशन गरेर यही दस्ताबेजमा समेटेर ल्याउने बताए । ‘कुनै पनि दस्ताबेज आफैँमा पूर्ण भन्ने हुँदैन । चाहे त्यो मार्क्सले लेखेको होस्, चाहे लेनिनले लेखेको । तर, त्यसको सार के हो भन्ने महत्वपूर्ण हुन्छ,’ प्रचण्डले भने, ‘त्यसैले अहिले तपाईंले दिएका सबै सुझावले पार्टी र पार्टीको कार्यदिशालाई थप बलियो बनाउनेछ भन्ने मेरो विश्वास छ । अब चुनाव सुरु हुन लागेको छ । राष्ट्रिय सभा हुँदै स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि विशेष महाधिवेशन गरेर त्यसबाट दस्ताबेजमा समेट्ने हो ।’
शनिबार विधान पारित भएपछि नेतृत्व चयन
आठौँ राष्ट्रिय महाधिवेशन आइतबारसम्म लम्बिने भएको छ । ११ पुसबाट सुरु भएको महाधिवेशन १५ पुस अर्थात् बिहीबारसम्म चल्ने कार्यसूची थियो । तर, शुक्रबार पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन आइतबारसम्म लम्बिने संकेत देखिएको छ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले शनिबार जवाफ दिने कार्यक्रम छ ।
शनिबार बिहान ११ बजे बन्दसत्र सुरु हुनेछ । समानुपातिक कोटामाथि विधानमा धेरै काम भएकाले यसमाथि छलफलको सम्भावना रहेको नेताहरूले बताएका छन् । शनिबार विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी छ । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी छ । पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुने बताए ।


