१५ करोड ५० लाख मूल्यमा ठेक्का लाग्यो पक्की पुलको, तर बन्यो बाँसको पुल !
झापा । झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् ।
स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल एक सय रुपियाँसम्म ठेकेदारले रकम असुल्दै आएका छन् । बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन ।लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय आक्रोसित बनेका छन् । तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन । -गोरखापत्र दैनिकबाट
यो पनि पढ्नुहोस..लमजुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’
यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङकित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानासाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।


