विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल
काठमाडौं, पुस २७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ । स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को एसईई, ११ र १२ को परीक्षा तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ । मुलुकभर कोभिड संक्रमण बढ्दै गएपछि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीको निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले आज मंगलबारबाट माघ १५ सम्म विद्यालयको आधारभूतदेखि माध्यमिक विद्यालय तह (कक्षा १२) सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रालयको निर्णयले आजबाट देशभरका २९ हजार सामुदायिक र ७ हजार निजी गरी करिब ३६ हजार विद्यालयको पठनपाठन बन्द भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा
उदयपुर, २७ पुस । त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ, सचिवमा अनुपम अनुराग गुप्ता, कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको सङ्घका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनुभएको छ ।
सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन हुनुभएको नवगठित समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । पाँच वर्षदेखि विभिन्न प्राविधिक कारण उक्त सङ्घको साधरणसभा हुन नसके पनि यसपटक सफल सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले अब आफ्नो नयाँ कार्यसमितिले जिल्लाका व्यापारीका भोग्नु परिरहेका विभिन्न समस्या पहिचान गरेर समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।


