कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी

काठमाडौं, माघ १०। सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ ।
स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पहिले गर्नेभन्ने विषयमा सत्तारूढ गठबन्धनभित्र विवाद रहँदै आइरहेका बेला गठबन्धन आबद्ध दल तथा कानुनविद्बीच आइतबार छलफल भएको थियो । छलफलमा कानुन व्यवसायीहरूले संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकार आबद्ध दलहरूलाई सुझाएका हुन् ।
कानुन व्यवसायीहरूका सो सुझावअनुसार सरकार संविधानसँग बाझिएका निर्वाचन कानुन संशोधन गरेर अघि बढ्न तयार देखिएको हो । सरकारले यो प्रक्रियाबाट अघि बढे २०७९ असोजपछि मात्रै स्थानीय तहको निर्वाचन हुनेछ ।कानुन व्यवसायीहरूसँगको छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधन गरेर अघि बढ्न सुझाव आएको जानकारी दिए ।

‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ मा उल्लेखित स्थानीय तहसम्बन्धी व्यवस्था बाझिएका छन्, संविधानको धारा १ बमोजिम संविधानसँग बाझिएका कानुन अमान्य हुन्छन् भन्ने कुरा आएको छ, छलफलमा संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव आएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने ।प्रधानमन्त्री शेरबहादुर देउवामाथि स्थानीय तह निर्वाचन धकेल्दै पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी अघि बढ्न गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाबाहेकका तीन दलले निरन्तर दबाब दिँदै आइरहेका छन् । प्रमुख सत्तारूढ दल कांग्रेस भने स्थानीय तहकै निर्वाचन पहिले हुनुपर्ने पक्षमा रहँदै आएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री देउवामाथि चर्को दबाब छ ।

प्रधानमन्त्री देउवाले निरन्तरको दबाबपछि गत शुक्रबार सत्तारूढ गठबन्धनको बैठक बोलाएका थिए भने सो बैठकले संविधान र निर्वाचन कानुन बाझिएको र स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई पदावधि समाप्त हुने मिति मान्ने भन्ने विषयमा कानुन व्यवसायीहरूसँग छलफल गरेर निचोेड निकाल्ने निर्णय गरेको थियो ।कानुन व्यवसायीहरूले भने संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्नेगरी ऐन संशोधन गर्न सत्तारूढ गठबन्धन आबद्ध दलहरूलाई सुझाएका हुन् । अर्कोतर्फ अन्तिमपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको मितिलाई स्थानीय तहको पदावधि सकिएको मिति मान्नुपर्ने राय पनि कानुन व्यवसायीहरूले सत्तारूढ गठबन्धनलाई सुझाएका छन् । राजधानी दैनिकबाट

यो पनि पढ्नुहोस…म्याग्दी, म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माण शुरु गरेको हो ।
वडा अध्यक्ष लक्ष्मण बानियाले ठेक्का पाएका निर्माण ब्यवसायी उद्यान निर्माणका लागि परिचालन भएका जानकारी दिनुभयो । “परिकल्पना भएको एक दशकपछि रावण उद्यान योजना कार्यान्वयन शुरु भएको छ,” उहाँले भन्नुभयो “रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका छन् ।” रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका अनुसार ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको धर्मा एस कास्यप जेभीसँग सम्झौता भएको हो । “पर्यटन मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेका थियौ,” उहाँले भन्नुभयो “पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार पार्न लागिएको हो ।”निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले काठमाडौमा रावणको मुर्ति तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो । पछैमा उद्यानका अन्य संरचना बनाउन पनि शुरु गरेको उहाँले बताउनुभयो । विसं २०७९ पुष महिनामा रावण उद्यान निर्माण गर्ने लक्ष्य राखिएको छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पुर्बाधार बनाइने भएको छ ।

रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ । विसं २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन् । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, सुर्योदय, बेनी बजार लगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे सम्मको सडक कालोपत्रे भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖