बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा विवाद
धरान, माघ १६ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् ।गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झगडा गरेको थियो । डाक्टरहरूबीच झगडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् । डा कलवारले साइन नेल प्रयोग गरेर अप्रेसन गरेका थिए । तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए । सोही विवादले चर्को रूप लिएपछि यो घटना प्रहरी, अस्पताल प्रशासन हुँदै काउन्सिलसम्म पुगेको आजको नागरिक दैनिकमा खवर छ ।
यो पनि पढ्नुहोस…काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन्।
राष्ट्रपतिले वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गरेकी छन्।
सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छन्। उनले वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवसका रूपमा मनाइँदै आइएको स्मरण गरेकी छन्।


