सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले
काठमाडौं, माघ १९ । सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्।एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।
आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ।
साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर पनि सत्तासहयात्रीबीच किचलो बढेको छ।
माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरूले सभामुख सापकोटाको भूमिकाको प्रशंसा गरिरहेका छन् भने गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन्। एमसिसीबारे गठबन्धन दलहरूभित्रै अन्तर्विरोध भएका बेला एमालेले सरकार कसरी अघि बढ्छ, त्यहीअनुसार आफ्नो नीति स्पष्ट पार्ने बताउँदै आएको छ। यद्यपि एमसिसी संसद्बाट पास गर्ने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेर अघि बढेमा प्रधानमन्त्रीलाई साथ दिने संकेत एमालेले गरेको स्रोतको दाबी छ।
यो पनि पढ्नुहोस…काठमाडौं। सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् ।गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचन गर्नतर्फ अघि बढ्न दबाब बढाएका हुन् ।
तर, प्रधानमन्त्री देउवाले भने स्थानीय तह निर्वाचनलाई कुनै पनि बाहनामा धकेल्ने पक्षमा आफू नरहेको प्रस्ट धारणा ती दुई दलका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दिएका छन् । सो विषयमा तीन नेताबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ घण्टा छलफल भएको थियो ।प्रधानमन्त्रीनिकट कांग्रेस नेता मीन विश्वकर्माले कुनै पनि बाहनामा प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनलाई धकेल्ने पक्षमा नरहेको र सो धारणा गठबन्धनका शीर्ष नेतृत्व तहमा प्रधानमन्त्रीले राखिसकेको जानकारी दिए ।
‘प्रधानमन्त्री अब स्थानीय तहको निर्वाचन कुनै बाहनामा धकेल्ने पक्षमा हुनुहुन्न, जेठभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, केही प्राविधिक विषय मिलाएपछि मिति तोकिन्छ,’ नेता विश्वकर्माले राजधानीसँग भने ।तर, सत्ता गठबन्धनमा रहेका मुख्य दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले भने पहिले निर्वाचनसम्बन्धी बाझिएका कानुन संशोधन गर्न प्रधानमन्त्रीमाथि दबाब दिएका छन् । सो विषयमा भने सरकार तयार भइसकेको छ ।
‘दाहाल र माधवजीहरू हाम्रा लागि अहिले चुनाव कम्फर्टेबल छैन भन्दै हुनुहुन्छ, प्रधानमन्त्रीमाथि चुनाव धकेल्न दबाब छ तर अब जेठबाट उता धकेल्ने सम्भावना छैन,’ विश्वकर्माले अघि भने ।प्रधानमन्त्री देउवा भने स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै संसद्बाट अमेरिकी सहयोग परियोजना पनि अघि बढाउने तयारीमा छन् । उनले दैनिकजसो सत्तारूढ दलका नेताहरूको बैठकमा एमसीसीको विषयलाई पनि उठाउँदै आइरहेका छन् ।
तर सत्तारूढ दलभित्रकै ती मुख्य दल भने एमसीसी परियोजना कुनै हालतमा स्वीकार गर्नै नहुने अडानमा छन् ।एमसीसी’bout अध्ययन गर्न सरकारले कार्यदल नै बनाएको छ । सो कार्यदलमा नेकपा एसका सम्मानीत नेता झलनाथ संयोजक छन् । कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् । उनले एमसीसीलाई यथास्थितिमा पास गर्ने अवस्था नरहेको भन्दै आइरहेका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र भने स्थानीय तहको निर्वाचन र एमसीसी दुवै विषयमा मतैक्यता छ ।


