पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

पूर्णप्रसाद मिश्र/काठमाडौँ, १७ फागुन (रासस) ः महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।

आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहनुभएका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

बिहान ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–गौशाला–चावहिल सडकमा सार्वजनिक र निजी यातायात सञ्चालन भइरहेको छ । लाइन र भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ । यसका लागि नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ । पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उहाँले सुनाउनुभयो । महाशिवरात्रिका अवसरमा आज भक्तपुरको डोलेश्वर मन्दिरमा पनि निःशुल्क गुर्जो सेवा दिइएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथका साथै काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै बिजुली बत्तीले सिँगारेर झिलीमिली बनाइएको छ । गोकर्णेश्वर मन्दिरमा पनि बिहान चार बजेदेखि नै भक्तजन आउन थालेको पुजारी जगदीश भट्टले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधना हुने महादेवको दर्शनपछि बालयन्त्रको पूजा आराधना हुने मन्दिरमा पनि जानुपर्ने विधि भएकाले पशुपतिनाथ आउने केही भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा पनि दर्शनका लागि जाने गर्छन् । काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी राजधानीका अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । आज भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुीक विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुन जगाइन्छ । धुनीमा प्रसाद बनाएर खाने प्रचलनसमेत छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।