अन्ततः सूर्यबहादुर थापाका भतिजा कुमार थापाले पनि त्यागे राप्रपा !

धनकुटा । लामो समयसम्म जिल्लाको नेतृत्व गरेका कुमारबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका छन् ।

सुनीलबहादुर थापाले आफ्ना वुवा सूर्यबहादुर थापाको विरासत जोगाउन नसके पनि भतिज कुमारबहादुर थापाले धनकुटामा राप्रपालाई जोगाउँदै आएका थिए । तर, उनले पनि राप्रपा त्यागेका छन् ।

२०४८ सालदेखि झण्डै ३१ वर्ष राप्रपाको जिल्ला अध्यक्ष रहेका कुमारबहादुर थापाले यही जेठ १९ गते धनकुटामा बसेको राप्रपाको बैठकमा राजनीनामा पत्र पेश गरेका थिए । जुन पत्र शुक्रबार मात्रै केन्द्रिय कार्यालयमा पुगेको छ ।

उनले आफ्नो राजीनामा पत्रमा कुनै कारण खुलाइएका छैनन् । उनले आफ्नो राजीनामा पत्रमा कुनै कारण नखुलाएको भए पनि महाधिवेसनपछि राप्रपाको केन्द्रले धनकुटालाई वेवस्ता गरेको उनले गुनासो गर्दै आएका थिए । त्यसका अलावाबैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्ला तहका नेताहरुले नै विना सल्लाह नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत मागेको सार्वजनिक भएको थियो । त्यसबाट पनि उनी रुष्ट थिए ।

गत मंसिरमा काठमाडौंमा सम्पन्न भएको बेला कमल थापा नजिक थिए । तर महाधिवेसन कमल थापा पराजय भए पनि नयाँ पार्टीतिर लाग्दा कुमारबहादुर थापाले संस्थापन पक्षमै बसेका थिए ।

लामो समयसम्म धनकुटाबाट सूर्यबहादुर थापालाई जिताउन मुख्य भुमिका निर्वाह गरेका थापाले आफुले पार्टी अध्यक्षबाट मात्रै राजीनामा दिएको बताए ।
कुमारबहादुर थापा स्व. सूर्यबहादुर थापाका सहोदर भतिजा हुन् । उनले २०४८ सालदेखि लगातार रुपमा सूर्यबहादुर थापालाई साथ दिँदै आए । पटक पटक सूर्यबहादुर थापालाई धनकुटाबाट जिताउन ठूलो भुमिका निर्वाह पनि गरे ।

दोस्रो संविधानसभाको निर्वाचनसम्म थापा पुत्र सनीलबहादुर थापा राजनीतिमा सक्रिय थिएनन्, उनी संयुक्त राष्ट्र संघको जागिरे थिए । उनी सक्रिय राजनीतिमा आउनुपूर्व सूर्यबहादुर थापाको राजनीतिक उत्तराधिकारीको रुपमा कुमारबहादुर थापालाई अघि सारिएको थियो । तर, छोरालाई राजनीतिमा ‘इन्ट्री’ गराएर भतिजलाई पाखा लगाए ।

२०४८ सालपछि धनकुटा एमालेमय बन्यो । त्यो एमालेका कार्यकर्ताहरुले मुगा, सान्ने लगायतका स्थानहरमा आक्रमण गरे । सान्नेको नागीबाट कुटपिट गर्दै धनकुटासम्म ल्याए । तर पनि उनी विचलित नभई काकाको राजनीति जोगाउन तल्लिन रहे ।

माओवादी द्धन्द्धकालमा राप्रपा, नेपाली कांग्रेस लगायतका पार्टीका नेताहरु विस्तापित हुँदा कुमार थापा भने राजनीतिक अडानमा बसे, माओवादीले उनलाई कुनै एक्सन लिने आँटसम्म गरेन ।

पहिलो संविधानसभाको निर्वाचनपछि भतिजलाई समानुपातिक सांसद बनाउने बचन दिएका थापाले दोस्रो संविधानसभाको निर्वाचनमा छोरालाई धनकुटा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित गराएर आफु समानुपातिक सांसद बने । जुनबेला पनि भतिजलाई समानुपातिक सांसद बनाउने प्रतिवद्धता जनाएका थिए ।

छोरालाई सभासद बनाएपछि मन्त्री बनाउन लविङ गरेका सूर्यबहादुरले भतिजलाई फर्किएर हेरेनन् । त्यसपछि काका भजितबीचको सम्बन्ध निक्कै चिसियो । त्यसपछि कुमार र सूनीलबीच त बोलचाल नै बन्द भयो । सुनील धनकुटा आउँदा कुमार काठमाडौं जाने र सुनील काठमाडौं जाँदा कुमार धनकुटा आउनेसम्म भयो ।

यी दुई दाजुभाईको राम्रोसँग बोलचाल नहुँदै सुनील नेपाली कांग्रेसमा प्रवेश गरे । उनी कांग्रेसमा प्रवेश गर्दा धनकुटामा राप्रपा शुन्य भयो भनी प्रचार गरे । तर, उनीसँग सीमित नेताले मात्र साथ थिए भने पुराना नेताहरु टीकाप्रसाद घिमिरे, श्याम गुरुङ, हरिप्रसाद घिमिरे, धर्मध्वज राई, पवित्रा श्रेष्ठ, दुर्गा पुरी, रेवतराम भण्डारी लगायतका नेताहरु राप्रपामै बसे । जसको नेतृत्व कुमारले गर्दै आएका थिए ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धनकुटामा प्रमुख पदहरुमा बठबन्धन बन्यो । सबै वडाहरुमा भने नेपाली कांग्रेस र माओवादीको मात्रै गठबन्धन बन्यो ।

राप्रपाले त्यतिबेला एमालेसँग गठबन्धन गर्न पटकपटक वार्ता गरेको थियो । तर, राप्रपाका केही नेताहरु भने एमालेलाई हराउनै पर्ने अडानमा थिए भने केही नेताहरु चाँही एमालेसँग गठबन्धन गर्ने पक्षमा थिए । सोही अनुसार आफ्ना उम्मेदवार नभए ठाउँमा स्वविवेक प्रयोग गर्ने अधिकार दिएका थिए ।

आफ्ना उम्मेदवार भएका ठाउँमा पनि एमालेलाई हराउने नाममा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जिम्मेवार नेताहरु नै मत मागेर हिडेका थिए । त्यति मात्रै होइन, उम्मेदवारहरुले समेत पार्टीसँग समन्वय नगरी उम्मेदवारी फिर्ता लिएका कारण कुमार रुष्ट थिए ।

‘जसलाई सहयोग गरेको भए पनि चुनावका बेला बुथमा बस्ने एजेन्टहरुका लागि भने अधिकांस नेताहरुले जिल्लाबाट बुथ खर्च लगेका थिए’, राप्रपा धनकुटाका एक नेताले भने ‘बुथमा बस्ने एजेन्टहरुका लागि पैसा लैजाने तर त्यही बुथमा राप्रपाको भोट अर्कैलाई दिएका कारण पनि अध्यक्षज्यु निरास बन्नु भएको हुनसक्छ ।’

अर्काे कारण भनेको कुमारबहादुर थापा मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन लागेका थिए । तर, राजेन्द्र लिङ्देन विजयी बनेपछि धनकुटालाई वेवास्ता गरे । धनकुटालाई कुनै प्राथमिकतामा राखेनन् । त्यसबाट पनि कुमार थापा निरास थिए ।

लामो समयदेखि चौतर्फी घेराबन्दीमा परेको अनुभव गरेका कुमारले जेठ १९ गते जिल्लामा रहेका ‘कोर ग्रुप’ को बैठक राखे । जुन बैठकमा उनले राजीनमा पत्र पेश गरे । राजीनामा पेश गरेपछि केहीवे सन्नाटा छाएको थियो । सोही सन्नटाबीच राजीनामा पत्र खोसाखोससमेत भएको थियो ।

सो बैठकमा अध्यक्ष ज्युले राजीनामा पेश गर्ने संकेतसम्म नपाएको सचिव दुर्गा पुरी बताउँछन् । ‘अध्यक्ष ज्युको राजीनामाको विषयमा केन्द्रमा कुरा भयो । तर, केन्द्रले राजीनामा केन्द्रमा नपठाउनु भनेको छ’, पुरीले भने, ‘हामी पार्टीमा गम्भीर छलफल गर्छौ । तर, उहाँको राजीनामा केन्द्रले पनि गर्न पाउँदैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।