यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

भक्तपुर, २६ भदौ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो ।

दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।

स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो ।

जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।”

शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइएको थियो ।

डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् ।

आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् ।

शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो । उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।