दुर्गा पक्षको १० औँ दिन विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडौँ, १९ असोज । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो । देवी विसर्जनका लागि बिहान १०ः३४ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन साइत हेर्नु नपरे पनि शुभ साइत खोज्नेका लागि समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

विजयादशमीका दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँ सुनाउनुहुन्छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधीमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।