आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

सुशीला रेग्मी/रामपुर (पाल्पा), ९ कात्तिक । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।

टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्नुहुन्छ,

सयपत्री र मखमली, घरको दायाँबायाँ ।
पवित्र होस् सधँैभरि, दिदीभाइको माया ।।

यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उहाँले आफ्ना शब्दमार्फत दर्शाउन खोज्नुभएको छ ।

तिमै्र साथमा रहन पाऊँ, बनी तिम्रो छाया ।
पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।।

तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाइ छ ।
“दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।”

निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्नुहुन्छ,

बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर ।
दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर
।।
आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति ।
आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।।

सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उहाँका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउनुहुन्छ ।

“अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ”, उहाँले भन्नुभयो ।

रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको तिहारको सन्दर्भ पारेर आयोजना गरिएको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन् । करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरङ्गी टीकाको महत्वलाई उजागर गरेका छन् ।

दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । मखमली फूलको तिहारमा धेरै महत्व छ । यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल ।

“रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेँसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलवा चाडपर्व विशेष र समय सान्दर्भिक बिशेष कार्यक्रमलाई असाध्यै चासो दिनुुहुन्छ, बेला बेलामा रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य श्रष्टा जुर्मुराउन थालेको पाइएको छ”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमितरुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ । कला र गला भएका श्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेला बखत पोख्ने माध्यम बनेको छ । प्रतिष्ठानले घुम्तीरुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।