अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै

अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्बिर ः भविन कार्की ÷रासस
खोटाङका धार्मिक केन्द्रमा एकादशी मेला
खोटाङ, १८ कात्तिक (रासस) ः हरिबोधिनी एकादशीको अवसरमा खोटाङका धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, रभुँवाघाट र होङ्मापोखरीमा धार्मिक मेला लागेका छन् ।
जिल्लाका तीनवटै धार्मिक तथा पर्यटकीयस्थलमा हरिबोधिनी एकादशीको अवसर पारेर लाग्ने मेलामा विशेष गरी दिवङ्गत आफन्तको नाममा सतबिउ छर्ने, धामीझाँक्री नाच्ने तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधिनी एकादशीको अवसर पारेर तीन दिनसम्म ठूलो मेला लाग्ने गरेको छ । मेलालाई व्यवस्थित गर्न बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा बराहपोखरी विकास समितिको तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।
मेलामा हुनसक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोलीसमेत खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले जानकारी दिनुभयो । बराहपोखरी मेलामा विशेष गरी दिवङ्गत आफन्तको नाममा सत्बीज छर्ने, धामीझाँक्री नाच्ने र दर्शन गर्नेको बाक्लो भिड लाग्ने गर्दछ ।
चारैतिर घना जङ्गलले घेरिएको तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा दुर्लभ रातो माछासमेत पाइन्छ । समुद्र सतहदेखि करिब एक हजार तीन सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधिनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने गरेको छ ।
बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दशवटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सोलुखुम्बु, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका विकास समितिले जनाएको छ ।
परापूर्वकालमा एउटा घरको अगेनोबाट निस्किएको माछोलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर पोखरी बनेकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ ।


