निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

दमौली, २७ मङ्सिर (रासस) :चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा ।

दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिनुभयो । “पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।”

पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । “विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो”, भण्डारीले भन्नुभयो । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ । “घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो”, भण्डारी सम्झिनुहुन्छ, “अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छौँ ।”

मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब रु ४० लाखमा मन्दिर पुनर्निर्माण गरिएको छ । पुर्ननिर्माणलाई सङ्घीय सरकारबाट रु सात लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट रु छ लाख ९५ हजार सहयोग भयो । स्थानीयकै सक्रियतामा रु ११ लाख ३० हजार चन्दा सङ्कलन गरियो ।

उहाँका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ । “यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौँ,” गुरुङ भन्नुहुन्छ । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताउनुहुन्छ ।

मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउछन् । यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउछन् । मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ । काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिनुभयो । निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ । मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।