खोटाङमा अलैँची उत्पादन बढ्दा किसानलाई राहत

खोटाङ, १३ पुस । चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा यहाँकाे एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएकाे र यसबाट ६१० मेट्रिक टन उत्पादन भएको छ ।

खाेटाङमा आर्थिक वर्ष २०७८/०७९ मा ५८५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैँचीको उत्पादकत्व ०.५७ पुगेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । 

चालु आर्थिक वर्ष पुरानो बगानमा अलैँची उत्पादन घटे पनि नयाँ बगानमा बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैँचीको उत्पादन बढेको कृषि प्रसार अधिकृत पण्डितले बताए ।

जिल्लामा अलैँची खेतीका लागि योग्य एक हजार दुई हेक्टर जमिनमध्ये एक हजार ६४ हेक्टरमा खेती लगाउने गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन, आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन र आर्थिक वर्ष २०७५/०७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । 

उत्पादित अधिकांश अलैँची सरदर प्रतिमन ३०-३५ हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ । कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने प्रतिक्षामा छन् ।

भण्डारणमा राखेको अलैँचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैँची बिक्री गरेका किसान अहिले निरास छन् । जिल्लामा उत्पादित अलैँची धरान र झापाको बिर्तामोड, भारत हुँदै अन्य देशमा पुग्ने गरेको छ । अलैँची खरिदका लागि ठेकेदार ट्याक्टर लिएर किसानका घर घरमा पुग्ने गरेका छन् । 

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची निकासीबाट हरेक वर्ष जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । कतिपय एउटै वडाबाट समेत करोडभन्दा बढिको अलैँची निकासी हुने गरेको छ । अलैँचीको दाना वा बेर्ना बिक्रीबाट सयौं किसानको आर्थिक स्थितिमा परिवर्तन आएको छ । अलैँची खेतीबाटै मन लागेको खाने, लाउने र बस्ने हैसियत बनाएका छन् ।

अलैँचीकै आम्दानीका कारण कतिपयले आफुलाई शहरबजारमै स्थापित गराएका छन् । तर, हालसम्म कुनै पनि स्थानीय सरकारले अलैँची किसानमैत्री नीतिक तथा कार्यक्रम ल्याउन नसकेको गुनासो छ । अन्य खेती मासेर अलैँची खेतीमा लागेका किसानको उत्साह जगाउनका लागि सरकारले अलैँचीको बजारभाउ तोक्नेदेखि निर्यातको जिम्मा लिनुपर्ने केपिलासगढी गाउँपालिका–३ बासपानी छिप्रुङका किसान ध्रुवराज राईले बताए । 

केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैँची खेती सुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैँचीको बोट झुल्न थालेका छन् । भाउ घट्दा पनि अन्य खाद्य बालीको तुलनामा अलैँचीकै आम्दानी बढि हुने गरेको किसान बताउँछन् । 

मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैँचीको खेती जिल्लाको ६४ वडाको विभिन्न जग्गामा गर्न सकिने सम्भावना छ । थोरै लगानीमा छिटो र बढि आम्दानी लिन सकिने भएकाले दशक यता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदैगएको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका किसान हात्तीराम राईले बताए । ‘अलैँचीको आम्दानीसँग अन्य बालीनालीको आम्दानी तुलना हुनै सक्दैन,’ उनले भने, ‘भाउ नपाउँदा पनि किसानका लागि अलैंचीकै आम्दानी बढी हुन जान्छ ।’ किसानमा अलैंचीको खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको अभाव भने खड्किएको पाइएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।