खोटाङमा चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

खोटाङ । खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि भएको छ । विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा र्‍हास आएको जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा सुन्तला उत्पादनमा बृद्धि भएको हो । ७४२ हेक्टरमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । 

राम्रो मौसम तथा रोगकिराको न्यून क्षतीले गर्दा हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा बृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसान श्याम राईले बताए । ‘बगानबाट साँढे तीन ट्याक्टर सुन्तला बिक्री भयो,’ राईले भने, ‘यसपल्ट साँढे पाँच लाखको आम्दानी भयो । गत वर्षभन्दा डवल आम्दानी भएको छ ।’ 

खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, बिराटनगर लगायतका शहरमा पुग्ने गरेको छ ।

गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ । चिसापानीको घोर्लेबाट मात्रै वार्षिक करोडको सुन्तला निर्यात हुने गरेको छ । घोर्लेबाट यस वर्ष १६/१७ ट्याक्टर सुन्तला निर्यात भइसकेको छ । सुन्तला खरिदका लागि ठेकेदार ट्याक्टर लिएर घोर्ले आउने गरेका छन् । 

दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायतका बजारमा अहिले सरदर प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ । सरकारी निकायबाट प्याकेजिङ, ग्रेडिङ, प्रसोधन र ढुवानीमा सहयोग भए सुन्तलाबाट आर्थिक संबृद्धि प्राप्त गर्न सकिने लामीडाँडाका किसान शिवकुमार बिश्वकर्माले बताए । 

जयरामस्थित दुधकोसी र फोक्सिङटारस्थित सुनकोसीमा पक्की पुल बनेका कारण सिधा बाटो खुलेकाले कतिपय सुन्तला जिल्लाबाट सिधै सहर पुर्‍याउने वाताबरण बनेको छ । जिल्लामा उत्पादित सुन्तलामध्ये करिब ४५ प्रतिशत सुन्तला बजारसम्म पुग्ने गरेको अनुमान गरिएको छ । सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ ।

कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् । जिल्लाका कतिपय स्थानीय तहले समेत पकेट क्षेत्र विस्तार गर्नेगरी सुन्तला खेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।