नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

काठमाडौँ, १ वैशाख (रासस) :नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताउनुभयो । “पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो ।

भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताउनुभयो । केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उहाँको भनाइ छ ।

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल
बेनी, १ वैशाख (रासस) :
म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ ।

आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका तेज गुरुङले बताउनुभयो । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटक बढेको उहाँले जानकारी दिनुभयो ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिल क्षेत्रमा यस याममा बढी पर्यटक भित्रिएका छन् । पर्यटकका लागि अनुकूल मौसम भएको र जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ वर्षको अवसरमा भ्रमणमा आउनेको सङ्ख्या ह्वात्तै बढेका घोरेपानीका होटल व्यवसायी रनबहादुर पुनले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटकको सुविधाका लागि टी एण्ड कफीसप सञ्चालन गर्नुभएका पुनले दैनिकरूपमा सात सयभन्दा बढी पर्यटक आउने गरेको बताउनुभयो । “विदेशी पर्यटक पनि यो सिजनमा बढेका छन्, बिदाको समयमा घुम्न आउने विद्यार्थीको सङ्ख्या पनि अधिक देखिएको छ”, पर्यटन व्यवसायी पुनले भन्नुभयो ।

घोरेपानी क्षेत्रमा रहेका ३० होटल तथा मोहरेडाँडास्थित सामुदायिक लज दैनिकजसो भरिभराउ हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका दर्जन बढी हिमाल एकै ठाउँबाट अवलोकन गर्नुका साथै सूर्योदय, घना गुराँसे जङ्गल र जैविक विविधतायुक्त क्षेत्रमा रमाउनका लागि यस क्षेत्रमा बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।