समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी

समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी। तस्बिरः दिलकुमार लिम्बू/रासस

तालबाराही मन्दिर पुनःनिर्माण थालियो
गण्डकी, १ वैशाख (रासस) :
पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो ।

पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।

भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो । हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गर्नुभएको थियो । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माण गर्न लागिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।

मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने बताउँदै अध्यक्ष कुँवरले दैनिकरूपमा मन्दिरमा आउने दर्शनार्थीबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन भइरहेको बताउनुभयो । “मन्दिर पुनःनिर्माणका लागि दैनिक रु ४०–५० हजारसम्म चन्दा सहयोग आउने गरेको छ”, उहाँले भन्नुभयो, “नयाँ वर्षका कारण पोखरा घुम्न आउने पर्यटकको आगमनले सहयोग पनि बढ्ने अपेक्षा गरेका छौँ ।” मन्दिरको पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि गुरुयोजना तयार गर्न डा भरतराज पहारीको संयोजकत्वमा सात सदस्यीय विज्ञसहितको टोली गठन भई त्यसमार्फत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्दिर पाँच महिनाभित्रै पुनःनिर्माण गर्ने लक्ष्य छ । प्राचीन मन्दिरका रूपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै क्रममा छ । मन्दिरको अस्तित्व १६६७ सालदेखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेको इतिहास छ ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिएछन् । श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्कोमात्रै रह्यो ।

फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । पोखरालाई पर्यटकीयरूपमा चिनाउन फेवाताल र यहाँको तालबारही मन्दिरको विशिष्ट महत्व रहेको पर्यटन व्यवसायी तारानाथ पहारी बताउनुहुन्छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढा–टाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ ।

तालमा देखिने माछापुच्छ«े हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइनेमात्र नभई तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।