गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

काठमाडौँ, १८ असार (रासस) :प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरु ब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् । यस अवसरमा विश्व हिन्दू महासङ्घको कार्यालय बाँसबारीमा आयोजना गरिएको कार्यक्रममा गुरुको महत्त्वका बारेमा प्रकाश पारिएको थियो ।

यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज गुरुपूर्णिमाका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा आयोजित कार्यक्रममा वैदिक गुरु परम्पराका गुरुप्रति सम्मानभाव प्रकट गरिएको थियो ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा आजै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको छ धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो ।

यस्तो वैदिक गुरु परम्परालाई गुरुकुलले विशेष रुपमा निरन्तरता दिँदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।