धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण

भरतपुर, ३ साउन /पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।

बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमअन्तर्गत करिब रु २१ लाखको लागतमा ढुङ्गेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ ।

ढुङ्गेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ । यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहजरुपमा पानी खान पाएका थिएनन् । “यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो, इन्जिनियर पौडेलले भन्नुभयो”, “ढुङ्गेधारा निर्माणपछि बाँदरलगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन् ।” आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुङ्गेधारा निर्माण गरिएको उहाँले बताउनुभयो । ढुङ्गेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन् । ढुङ्गेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ढुङ्गेधारामा काठमाडौँबाट ढुङ्गा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन् । इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुङ्गेधारा हो ।

खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुङ्गेधारा निर्माणको कामलाई अघि बढाएको बताउनुभयो । उहाँले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिने जानकारी दिनुभयो । कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताउनुभयो ।

देवघाट क्षेत्रमा नियमितरुपमा मर्निङ वाक गर्दै अनुभएका युवा व्यवसायी चन्दन अग्रवालले ढुङ्गेधारा निर्माणपछि निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्रमा पानीको निकै समस्या थियो, ढुङ्गेधारा निर्माणपछि पानीको समस्या समाधानसँगै आकर्षकसमेत देखियो । उहाँले ढुङ्गेधाराले नेपालको परम्परा र संस्कृति जोगाउने भन्दै यसले देवघाटधाममा आउने भक्तजनलाई आनन्द प्रदान गर्ने बताउनुभयो । उहाँले सो क्षेत्रमा रहेका बाँदर र गाईलाई दैनिकरुपमा खानेकुरा दिँदै आउनुभएको छ । ढुङ्गेधाराले मानिससँगै वन्यजन्तुको प्यास मेट्ने उहाँले बताउनुभयो । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले ढुङ्गेधाराले देवघाटको सांस्कृतिक महत्वलाई थप टेवा प्रदान गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।