साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, २९ साउन : सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो ।

आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजन आज शिवालयहरुमा दर्शनका लागि लाम लागेका छन् ।

पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताउनुभयो ।

अधिकांश रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका जस्तो देखिएको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् । यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ ।

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन् । अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै वर्तालुले साउने सोमबारको व्रत गरेका बताएको छ ।

साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ । सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरिजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठूलासाना शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ । कोषका अनुसार साउने सोमबारमा रू सात हजार पाँच सय बढीको मात्र विशेष पूजा गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।