एक महिनासम्म मनाइने ‘गुँलापर्व’आजदेखि सुरु

भादगाउँ (भक्तपुर), ३२ साउन : एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । यस वर्ष साउन ३२ गतेदेखि भदौ ३० गतेसम्म मनाइने भएको छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी रामशेखर शाक्यले बताउनुभयो । उहाँका अनुसार बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।

दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइने शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।

यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएका ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको शाक्यले बताउनुभयो । उहाँका अनुसार गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ ।

“गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ ।” उहाँका अनुसार पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।-राष्ट्रिय समाचार समिति (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।