ललिता निवास जग्गा प्रकरणबारे सुधिरकुमार शाहको बयान– मेरो इच्छा विपरीत श्रीमतीले जग्गा किनेकी हुन्

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवादी बनाएका पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाहले आफ्नो सहमति बेगर नै श्रीमतीले जग्गा किनेको बयान दिएका छन् ।

बयानमा शाहले भनेका छन्, ‘मेरी श्रीमती उर्मिला शाहले तत्कालीन अवस्था (२०४६ साल देखि २०७६ साल) मा शिवपुरी माध्यामिक विद्यालय, महाराजगंजमा अध्यापन गर्दा एक जना नाम थाहा नभएका विद्यार्थीको अभिभावक मार्फत बालुवाटारस्थित ललिता निवास क्याम्प भित्रका जग्गाहरु बिक्री गर्न खटिएको शर्माजी भन्ने वास्तविक नाम थर वतन थाहा नभएको जग्गा दलालसँग भेट भई जग्गासमेत हेरेकी रैछन् ।’

दलालले उक्त जग्गाको मोही र बाटो निकास एक वर्षभित्रै मिलाई दिने भन्ने विश्वास दिलाएको जिकिर गर्दै शाहले भनेका छन्, ‘तत् पश्चात मेरो श्रीमतीले उक्त जग्गा सस्तो मूल्यमा पाउने भएकाले उक्त जग्गा किन्नु पर्ने आफ्नो विचार मलाई भनिन् । म आफैँ पनि भक्तपुर मालपोत कार्यालयमा कार्यरत रहेको हुँदा मोही कायम भएको र बाटो निकास पनि नभएको जग्गा लिन हुन्न भनेर भन्दा श्रीमती र मेरो बिचमा केही असमझदारी समेत भयो ।’

उक्त असमझदारीलाई सदा कायम राख्न पनि मिलेन र अन्तमा श्रीमतीले आफ्नो इच्छा विपरीत आफ्नो दाजु बरुण कुमार शाहलाई जग्गाको पूर्जाको प्रतिलिपी र जग्गा भएको स्थानसमेत देखाई आफ्नो व्यक्तिगत कमाई तथा अपुग रकम दाजुसँग मागी दलालसँग जग्गा धनीकहाँ गई रकम बुझाई आफ्नो नाममा जग्गा पास गरेको शाहको जिकिर छ ।

‘गेहनाथ भण्डारीसँग मेरो भेटघाट हामी दुवैको श्रीमतीहरुले जग्गा खरिद गरेको करिव ३ महिनापछि भएको हो,’ बयानमा उनले भनेका छन्, ‘कुन महिनामा भन्ने सम्झना छैन । ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याउन गेहनाथ भण्डारीको भूमिका सम्बन्धमा मलाई थाहा छैन ।’

आफ्नो श्रीमतीले खरिद गरेको जग्गाको मूल्य र विक्री गरेको मूल्यबारे आफूलाई याद नभएको पनि उनले बयानमा उल्लेख गरेका छन् । ‘मेरी श्रीमती उर्मिला शाहले संयुक्त रुपमा जग्गा खरिद गरेकी हुन् । मेरो श्रीमतीले आफ्नो दाजुलाई लिएर तथ्यहरु भिडाएको हो र दुवै तथ्यहरु प्रमाणित भइसकेपछि मात्र जग्गा खरिदको कार्य भएको हो,’ बयानमा उनले भनेका छन्, ‘श्रीमतीको व्यक्तिगत कमाई, दाइजो तथा पेवाको केही रकम र निजका दाजु कानुन व्यवसायी बरुण कुमार शाहबाट प्राप्त ऋण सापटी समेतको रकम नै जग्गा खरिदको स्रोत हो ।’

मोही र बाटो निकासको समस्या करिव ११ वर्षसम्म सुल्झिन नसकेपछि आफ्नी श्रीमती समेतको नाममा दर्ता कायम रहेको जग्गा जग्गाधनीहरुले बिक्री गरेको र उक्त जग्गामा मोहीको हिस्सा कटाउँदा आफ्नी श्रीमतीको भागमा एक रोपनी चार आना दुई पैसा जग्गा परेको पनि उनले बयानमा उल्लेख गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖