अनुदानदेखि निःशुल्क शिक्षा प्यूठान नगरपालिकाको प्राथमिकतामा

काठमाडौँ, ९ भदौ : नेपालको संविधानले स्थानीय तहलाई सेवा प्रवाहको मेरुदण्डका रुपमा परिभाषित गरेको छ । संविधानले पालिकालाई ‘स्थानीय सरकार’ का रुपमा व्याख्या गर्दै अधिकार सम्पन्न बनाएको छ । संविधानको अनुसूची ८ ले कृषि, आधारभूत स्वास्थ्य तथा शिक्षा, स्थानीय पूर्वाधार निर्माणलगायत अधिकार स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भनी स्पष्ट पारेको छ ।

संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले आफूलाई सेवा प्रवाहमा केन्द्रित गरेका छन् । कतिपय पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायत क्षेत्रमा नमूना प्रस्तुत गरेका छन् । प्यूठान नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई उच्च प्राथमिकतामा दिँदै कृषिजन्य उत्पादनमा आत्मर्निभर हुने लक्ष्य राखेको छ ।

नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा, किसानलाई प्रोत्साहनस्वरुप उत्पादनमा अनुदान, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदानलगायत नमूना कार्य अगाडि सारेको छ । नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने मान्यताका साथ शैक्षिक सुधारमा केन्द्रित भएको बताउनुभयो ।

“समुदाय र अभिभावकले विश्वास गर्नसक्ने शिक्षा प्रदान गर्न थालिएको छ”, उहाँले भन्नुभयो । यही शैक्षिकसत्रदेखि अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाले कृषिलाई पनि उच्च प्राथमिकता दिएको उहाँको भनाइ छ । किसानलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । नगरपालिकाले अहिले कृषकले उत्पादन गरेका वस्तुलाई अनुदान दिन सुरु गरेको छ । पालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु १० अनुदान दिन थालेको छ ।

पालिकाले तरकारीलगायत कृषिजन्य उत्पादनमा पनि अनुदान दिने तयारी गरेको छ । “कृषिजन्य उत्पादनमा अनुदान दिन नगरपालिकाले कार्यविधि बनाइरहेको छ, कार्यविधि निर्माणपछि किसानसँग सम्झौता गर्ने तयारी छ”, योगीले भन्नुभयो । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानमा उत्साह बढेको छ । “दूध र तरकारीमा आत्मनिर्भर बनाउने नीति छ”, उहाँले भन्नुभयो ।

नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्ति, आवश्यक पूर्वाधारलगायत संरचनाको व्यवस्था गरिएको छ । पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । “ज्येष्ठ नागरिक, आर्थिकरुपले विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ”, प्रमुख योगीले भन्नुभयो, “ज्येष्ठ (६० वर्षमाथि) नागरिकलाई घरमै सामान्य स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।”

नगरपालिकाले हरेक वडामा सडक कालोपत्र गर्ने योजनाका साथ यसै आवदेखि काम थालेको छ । बेरोजगार युवालाई कृषिसँग जोडेर रोजगारीका साथै उत्पादन वृद्धिको योजना अगाडि बढाइएको नगरप्रमुख योगीले बताउनुभयो । “बेरोजगारलाई कृषिमा जोड्दा उत्पादनसँगै रोजगारी पनि सिर्जना हुन्छ”, उहाँले भन्नुभयो, “युवालाई कृषिमा आकर्षण गर्न ‘युवासँग कृषि’ कार्यक्रम ल्याइएको छ ।”

भूमि बैंक स्थापना गर्ने, बेरोजगारलाई कृषिसित जोड्ने, उत्पादनको बजारीकरण गर्नेलगायत काम नगरपालिकाले गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले नै उपभोग्य वस्तुलाई बजारसम्म पु¥याउने योजना बनाएको छ । “ग्रामीण भेगमा उत्पादन भएका उत्पादनलाई बजारको पहुँचमा पु¥याउन कार्यविधि निर्माण भइरहेको छ”, प्रमुख योगीले भन्नुभयो ।

किसानले उत्पादन गरेका दूध, तरकारीलगायत उपभोग्य वस्तु सङ्कलन गर्न सङ्कलन केन्द्र स्थापना गर्ने, किसानका उत्पादनलाई पालिकाले अनुदानसहित खरिद गरेर बजारमा पठाउनेसमेत तयारी गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।