एक महिने गुँला पर्व सम्पन्न

भक्तपुर, ३० भदौ : चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।

विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गत साउन ३२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न आज भएको हो ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतीकर्मी रामशेखर शाक्यले बताउनुभयो । हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाएको उहाँले बताउनुभयो ।

यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रर्तालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको शाक्यले जानकारी दिनुभयो ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।

उहाँका अनुसार पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।

काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर र मध्यपुरथिमिमा विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गिरएकाे थियाे ।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै पर्व मनाइएको गुरु बज्राचार्यले बताउनुभयो । उहाँले यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने जनाउँदै एक महिनाको अवधिमा कम्तीमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क गर्न नहुने उहाँले बताउनुभयो ।

सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्न सके दशशील पालना हुने बज्राचार्यको भनाइ थियो । भक्तपुरमा गुँला पर्वका अवसरमा भदौ ४ गते चाँगुनारायण, ६ गते साँखु बज्रयोगिनी, १३ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध, २० गते बाँडेगाउँ, २७ गते ललितपुरको जलविनायक र कार्यविनायक र ३० गते आज यहाँका विभिन्न चैत्य र स्वयम्भू महाचैत्यको परिक्रमा गरी मनाइएको छ ।

स्थानीयले महिलाले नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी, देवताकोसमेत परिक्रमा गर्ने प्रचलन रहेको बज्राचार्यले बताउनुभयो । आज बिहानैदेखि मध्यपुरथिमि, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व सम्पन्न गरिएको थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।