पितृ विसर्जन गरिँदै

महोत्तरी, २७ असोज : असोज कृष्णपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । दसैँ पर्व सुरु हुनअघि पितृहरु (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार महोत्तरीका धार्मिकस्थल र पवित्र जलाशय एकाबिहानै भरिभराउ छन् ।

मैथिल परम्परामा पितृपक्षभरि धार्मिक महत्वका नदी र तलाउमा पवित्र स्नान गरेर पितृतर्पण तथा पिण्ड दिइने परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिल धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् ।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिने भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिवास नगरपालिका भित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा पितृपक्ष विसर्जन गर्ने श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल हिन्दू जनविश्वास रहेको छ । यजमान (श्राद्ध गर्ने कत्र्ता) को भिड बढेसँगै पुरोहित (कर्मकाण्डि ब्राह्मण) लाई पनि भ्याइनभ्याइ परेको छ । कत्र्तापिच्छे गोत्र, नाउँ र पितृहरुको फरकफरक सङ्कल्प पढ्नु र कर्तालाई अ¥हाइ रहनुपरेको पुरोहित बताउँछन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँशीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँशीका दिन गरिने भएको हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने गरेको छ । यसैले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डि ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउनुहुन्छ ।

दसैैँ, तिहार र छठजस्ता महान् चाडबाड अघि पितृहरुलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण बर्दिबास–१ का भागवत काफ्लेको भनाइ छ ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब वडादसैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।