हनुमानढोका स्थित दसैँ घरमा राखियो जमरा

काठमाडौँ, २८ असोज ः हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रुपमा नवदुर्गाको पूजा गरिँदै आइएको दसैँ घरका पूजारी सागर खरेलले बताउनुभयो । जमरा छरेपछि व्यक्तिमा सुख, शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको उहाँको भनाइ थियो ।
राष्ट्रको कल्याण होस् जनता सुख, शान्ति र समृद्धिमा रहुन्, उन्नति प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिएको पूजारी खरेलले बताउनुभयो । हनुमानढोकास्थित दसैँघरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा छ ।

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित चण्डी(सप्तशती) पाठ गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नजिकैको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक माटो राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाइन्छ । नवरात्रको पहिलो दिन आज शैलपुत्री भगवतीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा तथा आराधना गर्ने शास्त्रीय नियम छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।