साँगुरीगढीमा वडा स्तरीय तेस्रो रनिङ शिल्ड भलिवल प्रतियोगिता सुरु
हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय तेस्रो रनिङ शिल्ड पुरुष तथा महिला भलिवल प्रतियोगिता २०८२ सुरु भएको छ। तीनदिने प्रतियोगिता साँगुरीगढी-१ चनौटे स्थित मुलघाट खेल मैदानमा आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गर्नु भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरूले ठूलो भूमिका खेल्ने बताए।
जेष्ठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाका सबै वडाबाट महिला तथा पुरुष भलिवल खेलाडी टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको सफल सञ्चालन र व्यवस्थापनका लागि वडा कार्यालय र स्थानीय युवा क्लबहरूको सहकार्यमा कार्यक्रम अघि बढाइएको आयोजकले जानकारी दिएका छन्।
खेल माध्यमबाट आपसी सद्भाव, स्वास्थ्य र अनुशासनको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिता समापनका दिन उत्कृष्ट टोली र खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।





