मोरंगमा माओवादीभित्र ठूलो राजनीतिक धक्का, पूर्व अध्यक्ष–उपाध्यक्षसहित १४ जनाको सामूहिक राजीनामा
मोरंग, १३ मंसिर । पार्टी एकता अभियानका बीच नेकपा माओवादी केन्द्र केराबारीमा अभूतपूर्व राजनीतिक हलचल देखिएको छ । देशभर पार्टी एकताको सन्देश लिएर प्रचण्ड दौडाहामा निस्किएका बेला केराबारीमा भने पूर्व अध्यक्ष र उपाध्यक्षसहित १४ जना नेतृत्वकर्ताले सामूहिक राजीनामा दिएपछि स्थानीय राजनीति एकाएक तातेको छ।
शनिबार विराटनगरमा हुने प्रदेशस्तरीय पार्टी एकताको आमसभाको पूर्वसन्ध्यामा घर–घरमा जरा गाडेर बसेको गाउँपार्टीको पूरै संरचनामै धक्का पुग्नेगरी उनीहरूले राजीनामा बुझाएको स्रोतले जनाएको छ।
यति ठूलो संख्यामा एकैचोटि माओवादी परित्याग भएको घटना केराबारीको राजनीतिक इतिहासमै पहिलो मानिएको छ।
राजीनामा सार्वजनिक रूपमा घोषणा नभएका भए पनि गाउँपार्टी कमिटीमा शुक्रबार नै १४ जनाले एकसाथ पत्र बुझाएको बताइन्छ।
राजीनामा दिने अधिकांश व्यक्ति सशस्त्र द्वन्द्वदेखि नै माओवादी राजनीतिसँग आबद्ध हुँदै स्थानीय तहसम्म जिम्मेवारी सम्हाल्दै आएका नेता हुन्।
२०७९ सालमा माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका तिलक थापा (मुरी) मगर, उपाध्यक्ष भक्तशेर लिम्बू, पार्टी सचिव किशोर राई, १० नम्बर वडाका संयोजक प्रेम लावती, वडासचिव प्रेम ठकुरीलगायतले समेत पार्टी परित्याग गरेका छन्।
यस्तै, दुुईपटक वडा अध्यक्षका उम्मेदवार बनेका नेतादेखि वाइसियल संयोजक, वडा सचिव लगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्तासमेत राजीनामा सूचीमा छन्।
स्थानीयहरूका अनुसार सामूहिक रूपमा परित्याग भएको यस घटनाले केराबारीको राजनीतिक समीकरण पूर्ण रूपमा बदलिने संकेत गरेको छ।
राजीनामा दिनेहरूको सूची:
१.तिलक मुरी मगर – पूर्व अध्यक्ष
२.भक्तशेर लिम्बू – उपाध्यक्ष
३.किशोर राई – गाउँपार्टी सचिव
४.सन्तोष राई – कोषाध्यक्ष
५. प्रेम लावती – १० नं. वडा संयोजक
६. प्रेम ठकुरी – १० नं. वडा सचिव
७. राकेश मगर – वाइसियल संयोजक
८. विष्णु सुहांग – ३ नं. वडा सचिव
९. पुष्कल चेम्जोङ
१०. जय सुहांग
११. किशोर आले मगर
१२. तुलसी सुहांग
१३. शेरबहादुर लिम्बू
१४. टंक प्रसाद मगर


