धनकुटाबाट कांग्रेस महामन्त्री गगन थापाको नाम पहिलो नम्बरमा सिफारिस,दोस्रोमा दिनेश राई
धनकुटा । नेपाली कांग्रेस धनकुटाले महामन्त्री तथा चर्चित युवा नेता गनकुमार थापालाई उम्मेदवार बन्न धनकुटाबाट सिफारिश गरेको छ ।
आज बसेको नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमिति बैठकले थापाको नामलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो । धनकुटामा एक निर्वाचन क्षेत्र छ । यसअघिका चुनावमा थापा काठमाडौँ ४ बाट निर्वाचित हुँदै आउनुभएको छ । थापाको उम्मेदवारीबारे अन्तिम निर्णय भने केन्द्रीय समितिले गर्नेछ ।
धनकुटाको यो सिफारिसलाई पार्टीले संगठन विस्तार र कठिन किल्ला तोड्ने रणनीतिको रुपमा पनि हेरिएको छ । धनकुटामा यसअघिका प्रतिनिधि सभा निर्वाचनहरुमा नेकपा (एमाले) लगातार जित्दै आएको छ । अहिलेसम्म नेपाली कांग्रेसले धनकुटाबाट पराजय भोग्दै आएको छ ।
नेपाली कांग्रेस धनकुटाको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि महामन्त्री थापासहित नेपाली कांग्रेस धनकुटाका पुर्व सभापतिहरु हरीकुमार राई र मनोहर नारायण श्रेष्ठ तथा जिल्ला सभापति दिनेश राईको नाम सिफारीस गरेको छ । जिल्ला सभापति राईको नाम दोस्रो नम्बरमा समावेश गरिएको छ ।
समानुपातिक तर्फ कमोड फाँगो, करुण कटुवाल, टिकादेवी भण्डारी, अम्बिका धमला, सिता प्रधान र मिना राईको नाम सिफारिस गरेको छ ।
सो बैठकले राष्ट्रिय सभाका लागि सुनीलबहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, लिला सुब्बा र अन्जना ताम्ली, दलिततर्फ रविन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरेको छ ।-धनकुटा एफएम


