कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण
सुनसरी, पुष ०६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।
पुस ०६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
वहाँले सडक अनुशासन कायम राख्न ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउदै दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिनु भएको छ । त्यसैगरी स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली, सिसिटिभी क्यामेरा, डिजिटल चालान प्रणाली लगायत आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी ट्राफिक सेवा प्रभावकारी बनाउन तथा भीडभाड तथा दुर्घटनाको जोखिम बढी हुने स्थानहरूको पहिचान गरी विशेष ट्राफिक योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको छ ।
वहाँले समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नागरिकसँग शिष्ट व्यवहार, कानुन कार्यान्वयनमा निष्पक्षता कायम राखी कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको बारेमा अवगत गराउनु भएको थियो ।


